इटहरी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा इटहरी उपमहानगरपालिका–१४ मा बालबालिकाको अधिकार, प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्।
वडा नम्बर १४ सहित छिमेकी वडाका विभिन्न विद्यालय तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सामूहिक नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला तथा पिठ्यूँमा किताब राखी तोकिएको दूरी पार गर्ने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिभा तथा सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए।
नृत्य प्रतियोगिताअन्तर्गत सिनियरतर्फ श्री पार्वती माध्यमिक विद्यालय इटहरी–१४ प्रथम, मिनिल्यान्ड सेकेन्डरी स्कुल इटहरी–८ दोस्रो र बाल आदर्श सेकेन्डरी स्कुल इटहरी–१६ तेस्रो भएका छन्।
त्यस्तै, जुनियरतर्फ मिनिल्यान्ड सेकेन्डरी स्कुल प्रथम, श्री पार्वती माध्यमिक विद्यालय दोस्रो र श्री सरस्वती सतन माध्यमिक विद्यालय इटहरी–८ तेस्रो भएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि संगीता कुमारी चौधरीले बालबालिका देशको भविष्य मात्र नभई वर्तमानका महत्वपूर्ण साझेदारसमेत भएकाले उनीहरूको शिक्षा, सुरक्षा, अधिकार र प्रतिभा विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। विद्यालयमा पढाइसँगै बालबालिकाका सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने प्रमुख अतिथि चौधरीले बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा इटहरी–१४ का वडा अध्यक्ष रमेशप्रसाद चौधरीले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि वडा तहबाट आवश्यक सहयोग र अवसर सिर्जना गरिने बताउनुभयो। बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिकका रूपमा विकास गर्न परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रम संयोजक मुकेशकुमार चौधरीले बालबालिकाको प्रतिभा पहिचान गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। बालबालिकाको सर्वाङ्गीण विकासका लागि परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकार सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
कार्यक्रममा वडा सदस्यहरू रुक्मणीदेवी चौधरी, जमिला मियाँ, उस्मान मियाँ, डोमिनीदेवी पासवान, वडा सचिव लोकेन्द्रप्रसाद घिमिरेलगायत जनप्रतिनिधि, विद्यालय तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासका विषयमा विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।


