इटहरी स् झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेको ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट मंगलबार दिउँसो २ः३० बजे स्पोर्ट सुज, कुर्ता र जामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायब निरीक्षक महेन्द्र गुरुङको नेतृत्वमा खटिएको चार सदस्यीय बीआईटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राईसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद सामानमा ६ लाख २० हजार रुपैयाँ बराबरका १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँ बराबरका ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरका २२ पिस जामा छन्। बरामद सामानको कुल मूल्य ६ लाख ६० हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण मुख्यालय झापाका सहायक गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्र केसीले जानकारी दिए।
उनका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको छ।


