इटहरी स् जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली एक वर्षपछि झ्यासघारीमा बेवारिसे अवस्थामा फेला परेको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती गोली फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट लागूऔषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेसन टोलीले लागूऔषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने क्रममा दमक नगरपालिका–५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको झ्यासघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘ओएफबी १३ ९५।५६० एमएम’ लेखिएका इन्सास राइफलमा प्रयोग हुने ३१ राउन्ड गोली फेला परेको हो । ती गोली गत वर्षको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका थिए ।
यसअघि पनि जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार दमकमै फेला परेको थियो । भदौ ६ गते मोरङको उर्लाबारी–६ घर भई हाल दमक नगरपालिका–१ रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण लुटिएको हतियारसहित पक्राउ परेका थिए । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कर्णलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दमक–४ त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको एक थान सर्ट गन बरामद भएको थियो । प्रहरीले खोजतलास गर्दा मिक कम्बलमा पोका पारी लुकाइएको अवस्थामा नम्बर १२११११४ को सर्ट गन फेला परेको थियो । उक्त सर्ट गनको ब्यारेले भाँचिएर दुई टुक्रा भएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अझै ठूलो परिमाणमा हतियार गायब
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका हतियार तथा गोली एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा फिर्ता भएका छैनन् । यसले सुरक्षा चुनौती बढाएको प्रहरी स्रोतको भनाइ छ । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट ठूला तथा साना गरी ५५ थान हतियार, ८७ थान म्याग्जिन, पाँच हजार ९८२ राउन्ड गोली, ७४ राउन्ड रबरको गोली, ४८ थान ब्लांक र अश्रुग्यासका ८२ सेल लुटिएका थिए । प्रहरीका अनुसार हालसम्म ४३ थान हतियार, ४० थान म्याग्जिन, एक हजार ७७८ राउन्ड गोली, ३५ राउन्ड रबरको गोली, ३० थान ब्लांक र ७६ सेल अश्रुग्यास फेला परिसकेको छ । तर, अझै ठूलो परिमाणमा हतियार तथा गोली फेला पर्न बाँकी छ । प्रहरी स्रोतका अनुसार दुई थान इन्सास राइफल, १८ थान म्याग्जिन र एक हजार ५०७ राउन्ड गोली, एक थान एसएलआर राइफल, ११ थान म्याग्जिन र एक हजार १५ राउन्ड गोली अझै फेला परेको छैन ।
त्यस्तै, ।३०३ राइफल एम–३ एक थान र त्यसको तीन थान म्याग्जिन, ।३०३ राइफल एम–४ एक थान र दुई थान म्याग्जिन तथा दुवै राइफलमा प्रयोग हुने एक हजार ४७६ राउन्ड गोली पनि फेला परेको छैन । प्रहरीका अनुसार दुई थान एसएमजी राइफल, ११ थान म्याग्जिन र ६२ राउन्ड गोली, एक थान सर्ट गन र त्यसको ६ राउन्ड गोली तथा दुई थान ग्यास गन र त्यसका ६ राउन्ड गोलीसमेत अझै फेला पर्न बाँकी छ । त्यसैगरी ठूलो चापे टी–५४ का दुई थान म्याग्जिन र छ राउन्ड गोली, सानो चापे टी–७७ का १० राउन्ड गोली तथा दुई थान ३८ बोर रिभल्बर र त्यसका ४५ राउन्ड गोली फेला पर्न नसकेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूला तथा साना गरी १२ थान हतियार, ४७ थान म्याग्जिन, चार हजार २१० राउन्ड गोली, ३९ राउन्ड रबरको गोली र १८ थान ब्लांक अझै गायब छन् । स्रोतले यसलाई कुल चार हजार २६७ थान हतियार तथा गोलीजन्य सामग्री फेला नपरेको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीमध्ये केही बरामद भए पनि ठूलो परिमाण अझै फेला नपर्नुले सुरक्षा निकायलाई थप चुनौती दिएको छ । लुटिएका हतियार आपराधिक समूह वा अन्य व्यक्तिको हातमा पुग्न सक्ने जोखिम रहेकाले बरामद भएका हतियारको अनुसन्धानसँगै बाँकी हतियारको खोजीलाई प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ ।


