इटहरी स् म्याद गुज्रिएको पशु दाना बिक्री गर्ने र बजार मूल्यभन्दा दोब्बर बढीमा काँडेतार बिक्री गर्ने झापाका दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ।
कारबाहीमा पर्नेमा मेचीनगर–९ स्थित दास किराना पसल र बुद्धशान्ति–३, बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्स रहेका छन्। भदौ २२ गते उपभोक्ता जागरण अभियान नेपालमार्फत दास किराना पसलमा म्याद गुज्रिएको गाईभैंसीको दाना बिक्री भइरहेको गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि कार्यालय, इलाका प्रहरी कार्यालय र सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सहभागी थिए। अनुगमनका क्रममा वीरगञ्जस्थित प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडले उत्पादन गरेको ‘शक्ति ब्रान्ड’का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात् ४९० किलोग्राम पशु दाना म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो।
म्याद गुज्रिएको दाना बिक्री–वितरण गरेको पुष्टि भएपछि अनुगमन प्रतिवेदनका आधारमा दास किराना पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसैगरी बुद्धशान्ति–३, बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्सले प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी मूल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने उजुरीपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमन टोलीमा आन्तरिक राजस्व कार्यालय तथा उपभोक्ता हित संरक्षण संस्थाका प्रतिनिधिसमेत सहभागी थिए। अनुगमनका क्रममा व्यवसायीलाई मूल्य निर्धारण तथा कारोबारसँग सम्बन्धित कागजात परीक्षणका लागि आवश्यक अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शिवम् ट्रेड एन्ड सप्लायर्सका प्रोप्राइटरलाई तीन दिनभित्र आर्थिक वर्ष २०८२र८३ का बिल–बिजक, खाता तथा अन्य आवश्यक कागजातसहित आन्तरिक राजस्व कार्यालय, भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिएको छ। प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हितविपरीत हुने गरी म्याद गुज्रिएका वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्यमा सामान बिक्री गर्ने व्यवसायीमाथि कारबाही गरिने जनाएको छ।


