इटहरी । कोशी राजमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित सेल्फिडाँडामा दुई सवारी साधन एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मङ्गलबार बिहान करिब ११ः३० बजेतिर धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र। १–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट जाँदै गरको को १ ख ७५२० नम्बरको ट्याङ्र एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा इभी गाडीका चालक तेह्रथुम फेदाप गाँउपालिका–१ बस्ने अन्दाजी ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुर पौवादुम्मा गाँउपालिका–३, स्थित चम्ताम बस्ने अन्दाजी ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता, डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनास्लथमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेद्धयको उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।