इटहरी। देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीको ब्यारेज पुलमा असोज १ गते मनाइने विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा कोशी ब्यारेज क्षेत्रलाई झिलिमिली बत्तीले झकिझकाउ बनाइएको छ ।
तीनदिन अघि कोशी ब्यारेज क्षेत्रलाई विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा लक्षित गरेर कोशी ब्यारेज क्षेत्रलाई थप आकर्षक, मनोरम र झिलिमिली बत्तीले झकिझकाउ पारिएको हो । ब्यारेजको पुल र नहर क्षेत्रमा सजावटका लागि विशेष रङ्गीचङ्गी विद्युतीय बत्तीहरू जडान गरिएको जनाएको छ । विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा कोशी ब्यारेजमा बत्तीले झकिझकाउ गर्दा रातको समयमा कोशी ब्यारेजको दृश्य निकै मनमोहक र उत्सवमय देखिएको स्थानीय देवराज यादव बताउनुहुन्छ ।
नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र कोशी टप्पु नजिकै भएको र देशको ठूलो नदीको महत्वपूर्ण संरचना भएकाले हरेक वर्ष विश्वकर्मा पूजाका अवसरमा यहाँ विशेष रौनकका लागि झकिझकाउ पार्ने गरेको यादवको भनाइ छ । विश्वकर्मा पूजाको तयारीका लागि कोशी ब्यारेज पूर्ण रूपमा विभिन्न बत्तीहरुले सजिएको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी व्यारेजको ५६ वटै ढोकोको माथि विशेष रङ्गीचङ्गी विद्युतीय बत्तीहरू जडान गरिएकोले तस्विर र भिडियो तथा टिकटक बनाउन सर्वसाधारणको आकर्षण बढेको छ ।


