इटहरी । राष्ट्रिय बाल दिवस २०८३ तथा तीज विशेष कार्यक्रम इटहरी उपमहानगरपालिका–११ मा सम्पन्न भएको छ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवद्र्धन र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को सहकार्य तथा कोसिस युवा क्लबको आयोजनामा भएको कार्यक्रममा बालबालिकाले कविता, नाटक, नृत्य तथा गायन लगायतका विभिन्न प्रस्तुति दिएका थिए । त्यस्तै, तीजको अवसरमा शुभकामना आदानप्रदान गर्दै महिलाहरूले एकल तथा संयुक्त नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिका तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्दै उनीहरूलाई सिर्जनात्मक तथा सामाजिक गतिविधिमा सहभागी गराउनुका साथै तीज पर्वलाई मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै मनाउनु रहेको कोसिस युवा क्लबका अध्यक्ष केशव जमर कट्टेलले बताउनुभयो। कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले बालबालिकाको प्रतिभा पहिचान र विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बालबालिकालाई पढाइसँगै कला, संस्कृति तथा सिर्जनात्मक क्षेत्रमा सहभागी गराउन स्थानीय तहले पनि आवश्यक सहयोग र प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा इटहरी–११ का वडा अध्यक्ष केशवप्रसाद कोइरालाले बालबालिकाको क्षमता विकाससँगै मौलिक संस्कृति र परम्पराको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले वडाले बालबालिका, महिला तथा समुदाय केन्द्रित रचनात्मक कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा इटहरी–१२ का वडा अध्यक्ष भुवन पोखरेल, वडा सचिव राजकुमार विश्वकर्मा, जनप्रतिनिधिहरू किशोर काफ्ले र बेदुलाल विश्वास लगायत विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तीज लगायत नेपाली मौलिक संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवद्र्धनमा समेत योगदान पु¥याएको आयोजकले जनाएको छ।


