इटहरी। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१०, जल्पापुरमा अज्ञात व्यक्तिले साँढे ९गोरु०माथि तातो पानी खन्याउँदा गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ ।

घटनाको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि इनरुवा नगरपालिकाको पशु स्वास्थ्य शाखाले चासो देखाएको छ । सामाजिक सञ्जालमा साँढेमाथि गरिएको क्रूरतापूर्वक कार्यको दृश्य सार्वजनिक भएलगत्तै इनरुवा नगरपालिकाका पशु शाखा प्रमुख डा।राजकुमार यादवको नेतृत्वमा गएको विशेषज्ञ चिकित्सकको टोलीले घटनास्थल जल्पापुर पुगेर घाइते साँढेको उपचार सुरु गर्नुभएको छ । केही दिनअघि अज्ञात व्यक्तिले क्रूरतापूर्वक साँढेको शरीरमा अत्यधिक तातो पानी खन्याएका थिए । यसबाट साँढेको शरीरको पछाडिको भागमा जलेको छ । जसकारण छाला उप्किएर साँढे घाइते भएको डा। यादवले बताउनुभयो । 

तस्बिर सार्वजनिक भएपछि सक्रिय भएको पशु चिकित्सकको टोलीले घाइते साँढेको घाउ सफा गर्ने, संक्रमण फैलिन नदिने, औषधि लगाउने तथा आवश्यक मलमपट्टीको काम थालेको छ । डा। यादवले बोल्न नसक्ने निर्दोष प्राणीमाथि गरिएको यस किसिमको क्रूर र हिंस्रक व्यवहार अक्षम्य अपराध भएको बताउनुभयो ।

नगरपालिकाले घाइते साँढेको पूर्ण स्वास्थ्यलाभ नभएसम्म निरन्तर उपचार र रेखदेखको प्रबन्ध मिलाएको उहाँले जानकारी दिनुभयो । स्थानीयहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।