इटहरी स् सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन्।
दुहबी नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार राति करिब ९ः३० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गणतर्फ प्रवेश गर्दै गरेको प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २७ प ९६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार धीरज चौधरी र पछाडि सवार प्रहरी जवान बाबुराम बुढाथोकी घाइते भएका छन्। चौधरीको बायाँ खुट्टा र टाउकोमा तथा बुढाथोकीको टाउको र देब्रे खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य छ।
यस्तै, अर्को मोटरसाइकल चालक श्यामसुन्दर साह तथा पछाडि सवार अरबिन यादव र रामरतन मण्डल पनि घाइते भएका छन्। उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते पाँचै जनालाई उपचारका लागि सामुदायिक अस्पताल दुहबी पठाइएको छ। दुर्घटनामा संलग्न को २७ प ९६८६ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा चलाइएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।


