इटहरी स् चाडपर्व नजिकिएसँगै झापाको बिर्तामोड क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन्। पछिल्लो एक सातामा बिर्तामोडका तीन ठाउँमा चोरी भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड–२ स्थित सांगवेद संस्कृत माध्यमिक विद्यालयसहित दुईवटा निजी घरमा चोरी भएको छ। विशेषगरी घरमा कोही नभएको मौका छोपी नगद तथा गरगहना चोरी भएको पाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले चाडपर्वको समयमा घरधनी बाहिर जाने क्रम बढ्ने भएकाले चोरीलगायत आपराधिक गतिविधि हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार विजयादशमी, दीपावली र छठ पर्व नजिकिँदै गर्दा आपराधिक गतिविधि बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। चोरीका घटना रोकथामका लागि प्रहरीले स्थानीय बासिन्दालाई पनि सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले घरमा ताला लगाएर परिवारका सबै सदस्य एकैपटक बाहिर नजान आग्रह गरेको छ। अत्यावश्यक कामले घर खाली गर्नुपर्ने अवस्था आए विश्वासिलो व्यक्तिलाई जिम्मेवारी दिएर छरछिमेकलाई समेत जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। घरका मुख्य स्थानमा सम्भव भएसम्म सीसीटीभी जडान गर्न, सुनचाँदी, नगद तथा अन्य बहुमूल्य सामान सुरक्षित स्थानमा राख्न र घरमा मर्मत वा अन्य कामका लागि आउने व्यक्तिको गतिविधिमा निगरानी गर्न प्रहरीले आग्रह गरेको छ। त्यस्तै, सामाजिक सञ्जालमा घर खाली रहेको वा परिवार बाहिर घुम्न गएको जानकारी दिने फोटो तथा भिडियो सार्वजनिक नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। घर वरपर र टोलमा नयाँ तथा शंकास्पद व्यक्तिको गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न भनिएको छ।
चाडपर्वका बेला घर तथा व्यवसायिक प्रतिष्ठान लामो समयसम्म खाली हुन सक्ने भएकाले चोरी नियन्त्रणमा नागरिकको सावधानीलाई प्रहरीले सुरक्षाको महत्वपूर्ण आधार मानेको छ।


