इटहरी स्  मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।

डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३८ एल ७९२० नम्बरको भारतीय मोटरसाइकल मंगलबार राति करिब ९ः२० बजेतिर हर्चनगढी पुलबाट करिब ८ मिटर तल खसेको थियो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा भारतको अररिया थाना पलासी गोठगाउँका अन्दाजी ४० वर्षीय मुना मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा राति १०ः०५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सुनवर्षी–८ हर्चनगढीका अन्दाजी ३५ वर्षीय दिपेश मण्डल पनि दुर्घटनामा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र रंगेली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।