इटहरी । भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले बताए ।
उनका अनुसार बरामद चल्लाको अनुमानित मूल्य करिब सात लाख रुपैयाँ रहेको छ । बरामद चल्ला क्वारेन्टाइन, कुखुरा व्यवसायी तथा जनप्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिने उनले बताए । भारतबाट चोरबाटो हुँदै कुखुरा तथा चल्ला भित्रिने समस्या मोरङमा नयाँ भने होइन । केही वर्षयता यस क्षेत्रमा भारतीय कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु अवैध रूपमा भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् । सुनसरीको इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाका अनुसार भारतबाट अवैध रूपमा तयारी कुखुरा र चल्ला भित्रिँदा नेपाली किसान तथा व्यवसायी प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । भारतबाट सस्तोमा कुखुरा तथा चल्ला ल्याएर बजारमा बिक्री गर्दा नेपालमा उत्पादन गर्ने किसानले लागतअनुसारको मूल्य पाउनसमेत कठिन हुने उनले बताए ।
‘भारतसँग कुनै पनि किसिमले प्रतिस्पर्धा गर्न सकिँदैन । खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरूले सस्तोमा कुखुरा र चल्ला भित्र्याएर बजारसम्म पुर्याउँदा नेपाली किसान र व्यवसायी संकटमा परेका छन्,’ थापाले भने । उनका अनुसार अवैध आयातले किसान, ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी र मासु व्यवसायसम्म असर पारिरहेको छ । सीमा क्षेत्रमा निगरानी प्रभावकारी बनाउन र अवैध आयात नियन्त्रण गर्न व्यवसायीले सरकारसँग पटकपटक माग गर्दै आएका छन् । भारतबाट अनौपचारिक बाटो हुँदै चल्ला भित्र्याउँदा आर्थिक प्रतिस्पर्धासँगै पशु स्वास्थ्यको जोखिमसमेत हुने बताइएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र नियमावली, २०५६ अनुसार आयात गरिने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन जाँच गर्नुपर्ने व्यवस्था छ ।
विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले जोगबनी, भण्टाबारी र माडर नाकाबाट नेपाल भित्रिने पशु तथा पशुजन्य सामग्रीको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइन प्रमाणपत्र दिने गर्छ । तर खेतका आली, सहायक बाटो तथा अन्य अनौपचारिक बाटोबाट चल्ला भित्र्याउँदा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया पूरा नहुने भएकाले पशुपन्छीजन्य संक्रामक रोगको जोखिम बढ्न सक्ने व्यवसायीको भनाइ छ । मोरङमा एकैपटक सात हजार चल्ला बरामद हुनु सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारको एउटा उदाहरण मात्र हुन सक्ने थापाले बताए । उनले सीमा क्षेत्रमा नियमित निगरानी, क्वारेन्टाइन प्रक्रियाको प्रभावकारी कार्यान्वयन तथा अवैध आयातको स्रोतसम्म पुग्ने अनुसन्धानलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।


