इटहरी । १४ वर्षमुनिका बालबालिकामा देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले रोटरी क्लब अफ इटहरीले सञ्चालन गरेको आँखा परीक्षण अभियानलाई निरन्तरता दिएको छ ।

अभियानअन्तर्गत बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका २९२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा करिब ११ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो । समस्या देखिएका बालबालिकालाई आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा उपचार गरिने उहाँले बताउनुभयो ।

रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नियमित आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत इटहरी तथा आसपासका विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गरिँदै आएको क्लबले जनाएको छ ।  कार्यक्रम संयोजक अञ्जु शाक्यका अनुसार प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराइँदै आएको छ ।

समयमै आँखासम्बन्धी समस्या पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट विद्यालय जाने उमेरका बालबालिका लाभान्वित हुँदै आएका छन् ।