इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।

आरक्ष कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०८२र०८३ मा आन्तरिक तथा बाह्य पर्यटकगरी १२ हजार ८८३ जना पर्यटकले आरक्षको भ्रमण गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असारसम्म नेपाली र विदेशी पर्यटकहरुले आरक्षको भ्रमण गरेका छन् । आरक्ष कार्यालयको अभिलेखअनुसार साउनदेखि असार महिनासम्म नेपाली, सार्क राष्ट्रका र विदेशी पर्यटकले आरक्षको भ्रमण गरेको बताइएको छ ।

आरक्ष कार्यालयका अनुसार  आर्थिक वर्ष २०८२र०८३ मा विभिन्न शीर्षकबाट ४३ लाख ९६ हजार ६५ रुपैयाँ ११ पैसा राजस्व सङ्कलन भएको जनाइएको छ । कार्यालयले वन पैदावार बिक्रीबाट, पर्यटनबाट, दण्ड सजायबापत र अन्य शीर्षकबाट राजस्व सङ्कलन गरेको जनाएको आरक्ष कार्यालयका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताउनुभयो । 

वरिष्ठ संरक्षण अधिकृत यादवका अनुसार कोशीटप्पुमा वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन । पर्यटकहरु विशेषगरी दुर्लभ अर्ना, हात्ती तथा विभिन्न प्रजातिका चराचुहरु हेर्न कोशीटप्पु आउने गरेका छन् ।  कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला वर्षमा पर्यटक आगमनमा उतारचढाव देखिए पनि कोशीटप्पुमा पर्यटकको आकर्षणको केन्द्रका रूपमा रहँदै आएको छ ।

आर्थिक वर्ष २०७४र०७५ मा पर्यटक आगमन सबैभन्दा बढी देखिएको तथ्याङ्कमा उल्लेख छ । त्यस वर्ष २० हजारभन्दा बढी पर्यटकले आरक्षको भ्रमण गरेका थिए ।