इटहरी। धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगामा प्रदेश सरकारको लगानीमा पर्यटकीय जलदेवी सिमसार पार्क निर्माण गरिएको छ । तर उक्त पार्क आवश्यक प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा परेको छ ।
धार्मिक तथा पर्यटकीय स्थलसमेत रहेको उक्त जलदेवी पार्क संरक्षण तथा निर्माणका लागि कोशी प्रदेश सरकारले ७ करोड बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटसँगै जलदेवी सिमसार पार्कमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ४४ लाख ३२ हजारमा पार्कको काम सम्पन्न गरेको हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको पार्कसँगै धार्मिक तथा आस्थाको केन्द्र जलदेवी मन्दिरसमेत रहेको छ ।आधुनिक संरचना निर्माणसँगै पार्क संरक्षणका साथै यहाँ मन्दिरसमेत पुनःनिर्माण गरिएको छ । पार्क अहिले आवश्यक प्रचारप्रसार र संरक्षण नहुँदा कुरुप बन्दै गएको स्थानीय चन्द्रबहादुर तामाङले बताउनुभयो ।
उहाँका अनुसार पार्कसँगै रहेको धार्मिक आस्थाको केन्द्र मानिने जलदेवी मन्दिरमा परापूर्व कालदेखि नै पूजाआजा गर्ने गरेका छन् । धार्मिक आस्थासँग जोडिएको यस मन्दिरमा भाकल, पूजापाठ साथै मागेको मनोकांक्षासमेत पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।मन्दिरसँगै पोखरी निर्माण, पोखरी वरिपरि रेलिङ, तारबेरा, सिँढी, फलामे पुल र वाल लगाइएको छ । पार्क निर्माणपश्चात् पर्यटकहरूकोसमेत आवागमन हुन थालेको थियो । सुरुवाती चरणमा आकर्षण र मनमोहक देखिपनि पछिल्लो समय संरक्षण नहुँदा ओझेलमा पर्दै गएको स्थानीयबासीको भनाइ छ ।
पाख्रीबास–सुनवालुवा सडक पहुँचले छोएपनि सडक स्तारोन्नति नहुँदा पनि पार्क ओझोलमा परेको छ । उक्त पर्यटकीय क्षेत्र तथा जलदेवी ताल संरक्षणका लागि प्रदेश सरकारले विनियोजनको बजेटबाट काम सम्पन्न गरेपनि आवश्यक प्रचारप्रसार र संरक्षण गर्न नसक्दा ओझेलमा परेको पाख्रीवास–७ का वडाध्यक्ष देवेन्द्र तामाङले बताउनुभयो । उहाँका अनुसार संरक्षण भएसँगै पर्यटकहरूको आकर्षण बढ्न थालेपछि स्थानीय होटल व्यवसायसमेत सञ्चालन हुने थिए । जसले स्थानीयलाई आर्थिक आयआर्जनको पाटोसँगसमेत जोडिने उहाँले बताउनुभयो ।आवश्यक प्रचारप्रसारसँगै नियमित संरक्षण र सडक स्तरोन्नति गर्न सके जलदेवी सिमसार पार्कले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्ने देखिन्छ ।


