इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ।
क्लबका अध्यक्ष सजिवन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिइएको हो। इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवद्र्धन तथा विकाससँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा हुने प्रतियोगिता असोज १ गते बिहीबारदेखि असोज १० गते शनिबारसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि १६ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न विभिन्न सरकारी निकाय, व्यावसायिक प्रतिष्ठान, प्रायोजक, खेलप्रेमी तथा स्थानीय समुदायबाट सहयोगको अपेक्षा गरिएको छ । प्रतियोगितामा आयोजक संयम तालतलैया फुटबल क्लब, माहुली एफसी सप्तरी, डाँडा बजार एफसी धनकुटा, डागिहाट एफसी मोरङ, पञ्चायन एफसी, कुसुमे साइनिङ क्लब मोरङ, नव युवा क्लब सुकुचर, सतीसाले युवा क्लब केराबारी र फ्युजन एफसी उदयपुर गरी ९ टोलीको सहभागिता रहनेछ।
गोल्डकपको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन्। साथै म्यान अफ द म्याच तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । अध्यक्ष राईले गोल्डकपलाई आगामी दिनमा समेत निरन्तरता दिँदै इटहरीमा फुटबलको वातावरण थप मजबुत बनाउने लक्ष्य रहेको बताउनुभयो। वि.सं. २०७२ सालदेखि इटहरीको फुटबल क्षेत्रमा सक्रिय रहँदै आएको तालतलैया फुटबल क्लबले नियमित प्रशिक्षणमार्फत विभिन्न उमेर समूहका खेलाडी उत्पादन गर्दै आएको क्लबका सचिव रोशन भुजेलले बताउनुभयो । क्लबबाट प्रशिक्षित खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् भने क्लबका तीन जना खेलाडीले नेपालका विभिन्न उमेर समूहका राष्ट्रिय टोलीको प्रतिनिधित्व समेत गरिसकेको क्लबले जनाएको छ।


