इटहरी : १४ वर्षमुनिका बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गरिरहेको रोटरी क्लब अफ इटहरीले बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका विद्यार्थीको आँखा परीक्षण गरेको छ ।

विद्यालयका कुल २९२ जना विद्यार्थीको आँखा परीक्षण गर्दा ११ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिए । परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका बालबालिकाको आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिने अध्यक्ष धमलाले बताए ।

रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नियमित आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत इटहरी क्षेत्रका विभिन्न सामुदायिक विद्यालय तथा समुदायमा पुगेर बालबालिकाको आँखा परीक्षण गर्ने गरिएको छ ।

आँखा परीक्षणका क्रममा समस्या देखिएका बालबालिकालाई आवश्यकताअनुसार थप परीक्षण तथा उपचारका लागि इटहरी आँखा अस्पतालमा ल्याउने गरिएको कार्यक्रम संयोजक अञ्जु शाक्यले जानकारी दिइन् । उनका अनुसार हरेक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा १४ वर्षमुनिका बालबालिकालाई निःशुल्क आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

 क्लबले इटहरी क्षेत्रका १० हजार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत इटहरीका कम्तीमा २२ वटा सामुदायिक विद्यालय तथा समुदायमा पुगेर बालबालिकाको आँखा परीक्षण गरिने क्लबले जनाएको छ ।

परीक्षणका क्रममा आँखासम्बन्धी समस्या पहिचान भएका मध्ये १०० जना बालबालिकालाई आवश्यक उपचार सेवा उपलब्ध गराउने योजना रहेको क्लबले जनाएको छ । बालबालिकामा आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके भविष्यमा आउन सक्ने जटिलता न्यूनीकरण गर्न सकिने भएकाले अभियानलाई निरन्तरता दिइने क्लबका अध्यक्ष धमलाले बताए ।