इटहरी। गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाई दिएर मात्रै परिवारलाई गाउँमा टिकाउन नसकिने निष्कर्षमा पुगेपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ । ‘दुहुना गाई’ कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरिएको छ । आर्थिक वर्ष २०७७र७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाएका छन् । पहिलो वर्ष नौ परिवारलाई गाई दिइएको थियो । त्यसपछि क्रमशः आव २०७८र७९ मा १०, २०७९र८० मा १८, २०८०र८१ मा ४ र २०८१र८२ मा ३ परिवारलाई गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताए ।
गाउँपालिकाले अन्य स्थानीय तह वा जिल्लाबाट बसाइँसराइ गरेर आउने परिवारलाई गाईमार्फत स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास गरेको राईको भनाइ छ । दूध उत्पादनबाट आम्दानी गर्नसक्ने भएकाले नयाँ ठाउँमा बसोबास गर्न आउने परिवारलाई आर्थिक रुपमा सहज हुने अपेक्षा गाउँपालिकाको रहेको राईले बताए। कार्यक्रमको प्रभाव अपेक्षाअनुसार नदेखिएपछि गाउँपालिकाले बसाइँसराइ गरेर आउने परिवारका लागि आम्दानीको स्रोतभन्दा पहिले स्थायी बसोबासको आधार आवश्यक रहेको बताएको छ । बसाइँसराइ गरेर आउने परिवारलाई घर निर्माणमा सहयोग गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘दुहुना गाई’ कार्यक्रमको विकल्पका रुपमा सुरक्षित आवासलाई अघि सार्न लागिएको उनले बताए ।
त्यसो त गाउँपालिकाले बसाइँसराइ गरेर आउनेबित्तिकै गाई वितरण गर्दैनथ्यो । बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाउने गरिएको थियो । गाई लिन चाहने परिवारले गाउँपालिकामा निवेदनसँगै बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्था रहेको थियो । कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेर परिवारको वास्तविक अवस्था, बसोबास र आवश्यक अन्य पक्षको अध्ययन गर्ने गरेको थियो । अनुगमनमा योग्य ठहरिएका परिवारलाई मात्रै दुहुना गाई उपलब्ध गराउने गरेको थियो । आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसक्दा भने केही इच्छुक परिवार कार्यक्रमबाट वञ्चित भएको पशुपन्छी विकास शाखाका प्रमुख राईले बताए ।
छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका रहेको गाउँपालिकाले जनाएको छ । छथर क्षेत्रसँग भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले तेह्रथुमबाट आउने परिवारको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ ।तेह्रथुमसँगै धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट परिवार छथर जोरपाटीमा बसाइँसराइ गरेर आएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । गाउँमा नयाँ परिवार भित्र्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले बसाइँसराइ गरेर आउने परिवारलाई स्थानीय तहको सेवासुविधासँग जोड्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए ।
गाईबाट सुरक्षित आवासतर्फ
पाँच वर्षको अनुभवपछि छथर जोरपाटीले बसाइँसराइ व्यवस्थापनको आफ्नो प्राथमिकता परिवर्तन गर्न लागेको जनाएको छ । यसअघि गाउँमा आउने परिवारलाई ‘उत्पादनसँग जोड्ने’ नीति लिइएको थियो । त्यसका लागि दुहुना गाई वितरण गरियो । अब भने ‘सुरक्षित बसोबासको आधार तयार गर्ने’ नीतितर्फ गाउँपालिका अघि बढ्ने भएको अध्यक्ष सुब्बाले बताए । उनका अनुसार दीर्घकालीन रुपमा परिवारलाई गाउँमा टिकाउन आयआर्जनसँगै स्थायी र सुरक्षित आवासको आवश्यकता देखिएको छ । त्यसैले अब बसाइँसराइ गरेर आउने परिवारका लागि घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिन लागिएको हो ।


