इटहरी स्  झापामा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर एक जनाको मृत्यु भएको छ।

कनकाई नगरपालिका–८ मा बस्दै आएका सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो। अधिकारीको स्थायी घर बाह्रदशी गाउँपालिका–६, कुमालगाउँ रहेको बताइएको छ।

यसैबीच, गएराति आएको हावाहुरी र भारी वर्षाका कारण झापाका विभिन्न स्थानमा विद्युत् सेवा प्रभावित भएको छ। चारपाने चोकको दक्षिणपट्टि हावाहुरीका कारण विद्युत्को पोलसमेत ढलेको छ। अनारमनी वितरण केन्द्रका अनुसार सुरुङ्गा, धुलाबारी र शनिश्चरे फिडरमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो। केही स्थानमा स्विचिङ गरेर विद्युत् सेवा सञ्चालनमा ल्याइएको भए पनि अधिकांश क्षेत्रमा आपूर्ति अझै अवरुद्ध रहेको केन्द्रले जनाएको छ।

अनारमनी वितरण केन्द्रका प्रमुख राजमणि बजगाईका अनुसार प्राविधिक टोली परिचालन गरी विद्युत् अवरोधको कारण पहिचान तथा मर्मतको काम भइरहेको छ। उनले यथाशीघ्र समस्या समाधान गरी विद्युत् आपूर्ति नियमित गरिने बताए।