इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।

थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरी–पचरुखीस्थित थारु बसघरामा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिलाको सहभागिता रहेको थियो। यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने त्यसमध्ये २२ जना छनोट भएका हुन्।

कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहनारायण चौधरी प्रमुख अतिथि रहनुभएको थियो। केन्द्रीय सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता गवनसिंह चौधरी, केन्द्रीय पार्षद केशीलाल चौधरी र वरिष्ठ सल्लाहकार गीतनारायण चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यस्तै, गायक तथा व्यवसायी सुनिल चौधरी, थारु महिला उत्थानकी अध्यक्ष आशा चौधरी, रामधुनी–१ की सचिव दिलकुमारी चौधरी, थारु तथा वंशावली महासभाका अध्यक्ष बद्रीलाल सिक्दार, सचिव अनिल चौधरी, ‘मिस्टर एन्ड मिस थारु हेरिटेज’का प्रबन्ध निर्देशक साहिल गीत चौधरी तथा अफिसियल डिजाइनर सङिना चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रममा टीएफसीए नेपालका पदाधिकारी, प्रतियोगिताको कोर टिम तथा २२ जना प्रतियोगी सहभागी थिए।

प्रतियोगितामार्फत विवाहित महिलाको नेतृत्व क्षमता, आत्मविश्वास, व्यक्तित्व तथा प्रतिभा विकासमा जोड दिइने आयोजकले जनाएको छ। साथै, जितिया पर्वसँग जोडिएको थारु समुदायको सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको टीएफसीए नेपालकी अध्यक्ष जनकी चौधरीले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित ताज तथा ह्याम्पर, प्रथम उपविजेताले ३० हजार रुपैयाँ र दोस्रो उपविजेताले २० हजार रुपैयाँ नगदसहित ताज तथा ह्याम्पर प्राप्त गर्ने टीएफसीए नेपालका महासचिव तथा कार्यक्रम संयोजक जनक चौधरीले जानकारी दिनुभयो। प्रतियोगितामा पब्लिक च्वाइस विधातर्फ समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।आयोजकका अनुसार प्रतियोगिताको फाइनल अडिसन असोज १५ गते इटहरीमै आयोजना हुनेछ।