इटहरी स् झापाको बिर्तामोडमा फार्मेसी सञ्चालन गर्दै आएका एक व्यवसायीले आफूलाई चक्कु देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
बिर्तामोड नगरपालिका–८ हर्चना, भद्रपुर–बिर्तामोड सडकखण्डमा कुकुरभुक्का पुल नजिकै तिम्सिना फार्मेसी सञ्चालन गर्दै आएका ५१ वर्षीय सूर्यप्रसाद तिम्सिनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका हुन्। तिम्सिनाले दिएको निवेदनअनुसार भदौ ३० गते साँझ करिब ७ः२० बजे बिर्तामोड–७ पाण्डेचोक बस्ने करिब ५० वर्षीय बसन्त कार्की औषधि खरिद गर्ने बहानामा फार्मेसीमा आएको र मादक पदार्थ सेवन गरेको अवस्थामा हातमा चक्कु बोकेर आफूलाई धम्की दिएको आरोप छ।
कार्कीले विगतका विषय निकाल्दै काट्ने तथा मार्ने धम्की दिएको, पसलको सटर र सोकेस फुटाउने प्रयास गरेको तथा पसलभित्र प्रवेश गर्न खोजेको तिम्सिनाको दाबी छ। आफू र परिवारका सदस्यलाई समेत अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उनको निवेदनमा उल्लेख छ। त्यस्तै, गुण्डा केटाहरू ल्याएर पसल र आफूलाई ध्वस्त पारिदिने धम्कीसमेत दिएको तिम्सिनाले आरोप लगाएका छन्। यसअघि पनि आफ्नो घरमा राखिएको पराल र तोरीको कुन्यूमा आगो लगाएर नष्ट गरेको तथा पसलको बन्द सटरमा लात्ती–मुक्का प्रहार गर्ने र मोटरसाइकलले ठक्कर दिने कार्यमा समेत कार्कीको संलग्नता हुन सक्ने आशंका गरिएको निवेदनमा उल्लेख छ।
तिम्सिनाले आफू र परिवारको जिउधनको सुरक्षा माग गर्दै कार्कीलाई प्रहरी कार्यालयमा बोलाएर आवश्यक अनुसन्धान तथा कारबाही गर्न माग गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएपछि आरोपको वास्तविकता खुल्नेछ। तिम्सिनाले आफ्ना व्यवसायी सहकर्मी तथा सम्बन्धित संघसंस्थालाई समेत घटनाबारे जानकारी गराएका छन्।


