इटहरी स्  सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा भैँसीको हुलका कारण भएको दुर्घटनामा चार जना घाइते भएका छन्। हुलाकी राजमार्गमा बुधबार साँझ भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

देवानगन्ज गाउँपालिका–१ का करिब ६० वर्षीय सुकल पाल भैँसी चराएर घर फर्कने क्रममा थिए। साँझ करिब ७ बजे भैँसीहरू आपसमा हानाहान गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भैँसीको हुलले पाललाई धकेलेको थियो। भैँसीको हुलले धकेलिएका पाल सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किन पुगेका थिए। चिमडीबाट हरिनगरतर्फ जाँदै गरेको को १–०२–०५६ प २७७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पालसहित मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन्।

दुर्घटनामा पालको टाउकाको अगाडिको भागमा गम्भीर चोट लागेको छ। बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनको विराट नर्सिङ होम, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भोक्राहा–नरसिंह गाउँपालिका–४ का करिब ४४ वर्षीय सज्जाद आलमको छाती तथा हातखुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार उनकी करिब ४० वर्षीया श्रीमती बेचनी खातुनको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था पनि सामान्य छ।

त्यस्तै, मोटरसाइकलमा सवार आलमकी ९ वर्षीया छोरी आरुफा फात्माको हातखुट्टामा चोट लागेको छ। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा भैँसीहरू आपसमा हानाहान गर्ने क्रममा गोठालालाई धकेलेपछि उनी मोटरसाइकलमा ठोक्किएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।