इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
तालतलैया फुटबल क्लब इटहरी–२ को आयोजनामा हुने प्रतियोगिता इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा असोज १ गते (आज)देखि १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा माहुली एफसी सप्तरी, डाँडाबजार एफसी धनकुटा, सधैंझिघाट एफसी, पञ्चायन एफसी, कुसुमे साइनिङ क्लब मोरङ, नव युवा क्लब सुकुचर, सतीसाले युवा क्लब केराबारी, फ्युजन एफसी उदयपुर र आयोजक तालतलैया फुटबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।वि.सं. २०७२ सालदेखि इटहरीको फुटबल क्षेत्रमा सक्रिय तालतलैया फुटबल क्लबले नियमित प्रशिक्षणमार्फत विभिन्न उमेर समूहका खेलाडी उत्पादन गर्दै आएको छ । क्लबबाट प्रशिक्षित खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेको क्लबका सचिव रोशन भुजेलले बताए ।
क्लबका तीन खेलाडीले नेपालका विभिन्न उमेर समूहका राष्ट्रिय टोलीबाट समेत प्रतिनिधित्व गरिसकेको जनाइएको छ । फुटबलको विकाससँगै युवामा अनुशासन, नेतृत्व क्षमता, खेल भावना र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले क्लबले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । क्लबले प्रतियोगिता सफल बनाउन सरकारी निकाय, व्यावसायिक प्रतिष्ठान, प्रायोजक, सञ्चारमाध्यम, खेलप्रेमी तथा स्थानीय समुदायबाट सहयोगको अपेक्षा गरेको छ ।


