सृजना ठाकुर ,इटहरी ।  इटहरी उपमहानगरपालिका क्षेत्रभित्र पर्ने टेंग्रा खोलामा रहेको सहायक पैदलयात्री पुल भत्काएपछि त्यसका बाँकी अवशेषहरू खोलाभित्रै छाडिँदा आसपासका मानव बस्तीहरू डुबानको गम्भीर जोखिममा परेका छन्। पुराना संरचना ढालेपछि खोलाभित्रै छाडिएका सिमेन्टका ठूला ढिस्का, कंक्रिट, फलामका डन्डी तथा ढुङ्गा–माटोका कारण खोलाको स्वाभाविक बहाव पूर्ण रूपमा अवरुद्ध बनेको छ।

वर्षातको समयमा खोलामा पानीको सतह बढ्दा यी अलपत्र अवशेषहरूले प्राकृतिक बाँधको रूप लिने देखिएको छ। खोलाभित्र थुपारिएका निर्माण सामग्रीले लेदो, फोहोर र झाडी रोकेर पानीको निकास ठप्प पार्ने र बाढी सोझै नजिकैका मानव बस्तीहरूतिर सोझिने खतरा स्थानीयवासीले व्यक्त गरेका छन्। समयमै सफाइ नगरिए सामान्य झरीमै पनि टेंग्रा खोला उर्लिएर सर्वसाधारणको घरजग्गामा क्षति पुग्ने र ठूलो धनजनको विपत्ति निम्तिने त्रास फैलिएको छ।

स्थानीयवासीका अनुसार भौतिक संरचना भत्काएपछि त्यसको उचित व्यवस्थापन गर्ने दायित्व सम्बन्धित निकायको भए पनि लामो समयसम्म फोहोर र कंक्रिट खोलामै छाडिनु उपमहानगरको चरम बेवास्ता हो। सम्भावित जोखिमबाट बस्ती जोगाउन इटहरी उपमहानगरपालिका र नगरप्रमुख हेमकर्ण पौडेलले तत्काल प्राविधिक टोली तथा डोजर खटाएर खोला सफाइमा तदारुकता देखाउनुपर्ने उनीहरूको जोडदार माग छ।

मनसुनको सम्भावित विपत्ति आउनुअघि नै खोलाभित्रका बाँकी अवशेषहरू पूर्ण रूपमा हटाएर नदीको बहाव सहज नबनाइए कडा कदम चाल्न बाध्य हुने स्थानीयवासीले चेतावनी दिएका छन्। बाढी आएपछि उद्धार र राहतको नाटक गर्नुभन्दा विपद्पूर्व नै ध्यान पु¥याउनु बुद्धिमानी हुने भएकाले उपमहानगरको तत्काल ध्यान जानु अति आवश्यक देखिन्छ ।