इटहरी। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले धनकुटा जिल्लामा ५४ हजार ४ सय चौपाया पशु चौपायालाई खोरेत विरुद्धको निःशुल्क खोप लगाउने भएको छ । खोरेत रोग उन्मूलनका लागि गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुवस्तुलाई केन्द्रले खोप लगाउने भएको हो । 

संघीय सरकारले खोरेत विरुद्धको आवश्यक खोप उपलब्ध गराएको र असोज १५ गतेबाट लगाउने तयारीमा रहेको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको लजिस्टिक सपोर्ट र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाका सातवटै स्थानीय तहमा खोप लगाउने तयारी गरेको छ । केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार खोप दिनका लागि जिल्लामा ४४ जना भ्याक्सिनेटर छनोट गरी भदौ ३१ गते तालिम दिएको र केही दिनभित्रै जिल्लाका सातवटा स्थानीय तहमा खटाइने बताउनु भयो । अभियान सञ्चालनका लागि आवश्यक खोप आइसकेको समेत उहाँले बताउनुभयो । गत वर्ष धनकुटामा ४७ हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१र०८२ देखि खोरेत रोग नियन्त्रण तथा न्यूनीकरणका लागि अभियान सञ्चालन गर्दै आएको र  आगामी पाँच वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । पशु चौपाया स्वास्थ्यसँगै दूध तथा मासुको उत्पादन, बजार विस्तार र गुणस्तरसँग जोडेर खोप सञ्चालन गर्न लागिएको हो । खोरेत रोग अत्यन्त संक्रामक भएकाले एक ठाउँबाट अर्को ठाउँमा पशु चौपाया ओसारपसार गर्दा फैलने जोखिम हुने गर्दछ । रोग देखिएको क्षेत्रमा पशु चौपायको उत्पादनको व्यापारमा स्वास्थ्य सम्बन्धी प्रतिबन्धित समेत हुन सक्ने सूचना अधिकारी कार्कीले बताउनु भयो । खोरेत रोग देखिएको क्षेत्रका किसानले उत्पादन गरेका दूध तथा मासु बिक्रीमा असर पार्नुका साथै बजारमा आपूर्ति व्यवस्थासमेत प्रभावित हुने छ । पशुजन्य उत्पादनको बाह्य बजारसम्म लानुपर्ने हुँदा रोगको अवस्थाबारे प्रमाणित स्वास्थ्य मापदण्ड पूरा गरी खोरेत रोग नियन्त्रणलाई उत्पादनको सुरक्षा र बजार विस्तारसँग जोडिएको जनाईएको छ । खोरेत विरुद्धको खोप वर्षमा दुईपटक लगाउनुपर्ने केन्द्रले जनाएको छ ।

खोप धनकुटामा ल्याएर लामो समय भण्डारणका लागि ‘कोल्ड चेन’ नभएकाले विराटनगरमै राखिएको र अभियान संचालन सुरु हुन अगाडी ल्याउने केन्द्रले जनाएको छ । सरकारले खोरेत विरुद्धको खोप निःशुल्क उपलब्ध गराएकाले छ । भ्याक्सिनेटरले एउटा गाई वा भैंसीलाई खोप लगाए बापत भने ३० रुपैयाँ र बंगुरलाई खोप लगाएबापत १५ रुपैयाँ पाउने पाउने छन् ।