इटहरी । युवामा नेतृत्व क्षमता विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले इटहरी जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताह–२०२६’ औपचारिक रूपमा सम्पन्न भएको छ।
‘डेभलपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ मूल नाराका साथ भदौ २५ देखि ३१ गतेसम्म सञ्चालित सप्ताहअन्तर्गत ह्विलचेयर म्याराथन, ‘शिक्षा उपहार’, स्वास्थ्य शिविर, वक्तृत्वकला र हाजिरीजवाफसहित सातवटा विविध कार्यक्रम आयोजना गरिएका थिए। सप्ताहको अन्तिम दिन आयोजित ‘चेन्ज कनेक्ट लिड’ प्यानल छलफलमा एमएम ग्रुपका म्यानेजिङ डाइरेक्टर सुयेश प्याकुरेल, पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालयका प्रा. डा. सन्देश दास श्रेष्ठले युवा नेतृत्व, उद्यमशीलता, शिक्षा र ज्ञानलाई व्यवहारमा उतार्ने विषयमा गहन विचार व्यक्त गर्नुभयो।
विभिन्न प्रतियोगितातर्फ ‘भोइस अफ टुमोरो’ वक्तृत्वकलामा सुष्मा गौडावरी कलेज प्रथम भयो भने ‘लेट देवेन्द्र के. श्रेष्ठ मेमोरियल इन्टर जेसीज रनिङ क्विज’ मा ९३ अंक प्राप्त गर्दै जेसीआई तरहरा शीर्ष स्थानमा रहन सफल भयो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीको नेतृत्वमा सम्पन्न सो कार्यक्रमलाई भव्य बनाउन प्रमुख सह–समन्वयक जेसी प्रमोद घिमिरे (भान्जा), महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) र समापन समारोह को–अर्डिनेटर जेसी प्रज्वल बस्नेतले भूमिका निर्वाह गर्नुभएको थियो।
जोमाई नेपाल मुख्य प्रायोजक रहेको यस सप्ताहले युवामा सकारात्मक परिवर्तन र सहकार्यको भावना जगाउन प्रभावकारी योगदान पु¥याएको आयोजकले जनाएको छ।


