इटहरी। धनकुटा जिल्लामा एकसय ८२ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले घरमै आएर राहदानी वितरण गरेको छ । सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार गत जेठदेखि भदौ मसान्तसम्मा घरमै राहदानी पाएका हुन् ।
प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउनेगरी दुईसय ३४ जनाले फाराम भरेका थिए । जसमध्ये एकसय ८२ जनाले घरमै राहदानी पाइसकेका छन् । अन्य बाँकी रहेका ५२ जनाको राहदानी आउन बाँकी रहेको पाइएको छ । बाँकी रहेकाहरुको पनि राहदानी आएपछि घरमै पाठाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा राहदानी बनाउनेलाई प्रशासन कार्यालयले घरमै पुगेर राहदानी वितरण गर्दैआएको छ ।
जसले गर्दा सेवाग्राहीलाई सहज भएको छ । त्यसो त दुर्गम तथा टाढाबाट राहदानी लिनका लागि कार्यालयसम्म धाउनुपर्ने बाध्यतासमेत अन्त्य भएको छ । सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार उक्त कार्यक्रम कार्यान्वयनमा भएसँगै प्रभावकारी भएको छ । पहिला भने सेवाग्राहीले राहदानी बनाएर महिनौपछि पुनः जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था रहेको थियो । अहिले भने जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरमै राहादानी विरतरण गर्न थालिएको छ । हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबिच सम्झौताअनुसार स्थानीय तहसँग समन्वय गरी नागरिकको घरमै राहदानी पुगाउने व्यवस्था मिलाइएको छ ।
ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाउँदै लैजाने तयारीमा रहेको प्रशासन कार्यालय धनुकटाले जनाएको छ । सरकारले नागरिकको घरमै राहदानी र नागरिकता पठाउने योजना बनाएको थियो । तर नागरिकता बनाउन कार्यालयमा नै आएर विवरण बुझाएको केही समयमै पाउने हुँदा हुलाकको प्रयोग गरेको देखिएको छैन । जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठका अनुसार ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत हुलाक सेवा विभागमार्फत जिल्लाको सातवटै स्थानीय तहमा सेवा दिइरहेकोे बताउनुभयो ।
गत बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच घरमै राहदानी पठाउने सम्झौता भएको र जेठ १ गतेबाट घरमै राहदानी सेवा सुरु गरिएको थियो । हुलाकमार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको छ । जिल्लाको विभिन्न स्थानमा नागरिकलाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले घरमै राहदानी सेवा विस्तार सुरु गरेको थियो ।


