इटहरी। सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षले कोशी क्षेत्रमा नौ महिनाका लागि माछा मार्ने अनुमतिपत्र ९लाइसेन्स० वितरण गरेको छ । असार, साउन र भदौ गरी तीन महिना पूर्ण रूपमा माछा मार्न बन्द गरिएको थियो ।

यस अवधिमा कोशीमा बाढी आउने र माछाको प्रजनन समय ९ब्रिडिङ सिजन० मानिने भएकाले नदी तथा सीमसार क्षेत्रमा माछा मार्न आरक्ष प्रशासनले पूर्ण रूपमा रोक लगाउँदै आएको छ । उक्त रोक हटेसँगै वर्षौँदेखि कोशीको जलचरमै आश्रित स्थानीय समुदाय पुनः आफ्नो परम्परागत पेशामा फर्किएका छन् ।

भएकाले माछा मार्न बन्देज गरिएपनि असोज १ गतेदेखि पुनः माछा मार्न अनुमति दिइएको हो । आरक्ष कार्यालयका अनुसार स्थानीय माझी तथा मलाहा समुदायका चार सय जनालाई अनुमतिपत्र वितरण गरेको हो । तीन महिनाको पर्खाइपछि पुनः माछा मार्न पाउँदा स्थानीय माझी मलाहाहरूमा उत्साह छाएको छ ।

असोज १ गतेदेखि माछा मार्ने अनुमति पाएपछि खुसी व्यक्त गर्दै स्थानीय गुलाबी मुखिया भन्नुहुन्छ, ‘तीन महिनासम्म माछा मार्न नपाउँदा घर, व्यवहार चलाउन र बिहान–बेलुकाको छाक टार्न धेरै कठिन थियो, परिवार पाल्ने बाटो खुलेको छ । आरक्षको नियम पालना गर्दै सुरक्षित रूपमा माछा मार्नेछौँ ।’ आरक्ष प्रशासनका अनुसार सीमसार क्षेत्रको जैविक विविधता र जलचरको संरक्षणलाई ध्यानमा राख्दै तोकिएको नियम र सीमाभित्र रहेर मात्र माछा मार्न दिइनेछ । यो अनुमतिपत्र आगामी जेठ मसान्तसम्मका लागि लागू हुनेछ ।