इटहरी। भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन्। अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी हुन थालेपछि यहाँका किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन्।

भोजपुर नगरपालिका(५ का किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो रु १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उनले बताइन्। थोरै लगानी र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उनको भनाइ छ । एकातिर खाली जमिनको सही सदुपयोग भई अतिरिक्त आम्दानी दिनुका साथै भटमासको बोटले माटोमा नाइट्रोजन स्थिर गरी उर्वराशक्ति बढाउनसमेत सहयोग पुर्‍याउने कृषि विज्ञहरू बताउँछन्।

किसान भीमप्रसाद फुयाँलका अनुसार बजारमा भटमासको हरियो कोसाको माग दिनप्रतिदिन बढ्दो छ। पोषणयुक्त र स्वादिष्ट मानिने भएकाले उपभोक्ताले हरियो कोसालाई निकै रुचाउने गरेका उनको अनुभव छ । मुख्य बालीको बीचमा खाली रहेको जमिनमा रोप्दा अतिरिक्त आम्दानी लिन सकिने भएपछि भटमासखेती भोजपुरका ग्रामीण भेगका किसानहरूका लागि जीविकोपार्जन र आर्थिक उपार्जनको दरिलो माध्यम बन्दै गएको छ।