इटहरी । स्थानीय कला, प्रतिभा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यसहित तेह्रथुमको बसन्तपुरमा नेसनल गट ट्यालेन्ट सिजन–८ को अडिसन सम्पन्न भएको छ ।
लालीगुराँस नगरपालिका–२, बसन्तपुरस्थित श्री बसन्त माध्यमिक विद्यालयको सभाहलमा आयोजित अडिसनमा ४३ जना प्रतिभाले गायन तथा नृत्य विधामा आफ्नो कला प्रस्तुत गरेका छन्। बालबालिका देखि युवा सम्मका प्रतिभाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । “कला संस्कृतिको जगेर्ना र हस्तान्तरण, तपाईं–हाम्रो उत्तरदायित्व” भन्ने मूल भाव सहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले गायन र नृत्य मार्फत आफ्नो क्षमता प्रदर्शन गरेका हुन् । रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेनमेन्ट प्रालि र टिन्ज क्रु डान्स सेन्टर, धनकुटाको आयोजनामा भएको प्रतियोगितामा १३ वर्षमुनिका लागि जुनियर र १४ वर्षभन्दा माथिका लागि सिनियर समूह निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख रुपैयाँ, दोस्रो हुनेलाई १ लाख रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसका साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने कार्यक्रम संयोजक तथा कलाकार सुमन योगीले बताउनुभयो । बसन्तपुरमा भएको अडिसनले विद्यार्थी तथा युवाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको भन्दै श्री बसन्त माध्यमिक विद्यालयका शिक्षक नवीन अधिकारीले कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरूमा यस्ता कार्यक्रम आयोजना हुनु निकै सकारात्मक रहेको बताउँदै यस्ता गतिविधिले उनीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
त्यस्तै, प्रतियोगी एन्जल गुरुङले बसन्तपुरमा नेसनल गट ट्यालेन्टको अडिसन आयोजना गरी आफूहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा आयोजक सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । “आजको अडिसन, भोलिको सफलता” भन्ने नारासहित अघि बढेको नेसनल गट ट्यालेन्ट सिजन–८ ले प्रतिभाको खोजीसँगै नेपाली कला, संस्कृति र सिर्जनशीलतालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।


