इटहरी । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा रक्तदान र बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा शुक्रवार बिहान रक्तदान र माध्यमिक ( कक्षा ११ र १२ ) स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
नगरपालिका कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत सङ्कलन भएको प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो। ‘रक्तदान जीवनदान’ भन्ने मूल मर्मका साथ नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, वडाध्यक्ष, कार्यपालिका सदस्य, सामाजिक अगुवा, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
त्यस्तै, शुक्रवार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टीस्थित स्रोत केन्द्रको भवनमा माध्यमिक विद्यालय (कक्षा ११–१२) स्तरीय ‘डिजिटल युग र बालबालिकाः अवसर र चुनौती’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । शाखा प्रमुख उत्तमराज भारतीको सभापतित्व तथा उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा जडेज माविकी छात्रा सबिना बानिया (प्रेरणा जैसवाल) प्रथम भई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयो।
यसैगरी, राधाकृष्ण संस्कृत मावि गुरुकुलका छात्र मुकुन्द वस्ती द्वितीय ३ हजार, शिवम ज्योति इङ्लिस स्कुलका छात्र रोदिस ढुङ्गना तृतीय २ हजार र मुनबिम एकेडेमीकी छात्रा सञ्जिना बस्नेत सान्त्वना हुँदै १ हजार हासिल गर्न सफल हुनुभयो। विजयी विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार प्रदान गर्नुभएको थियो। नगरपालिकाले संविधान दिवसको अवसरमा रक्तदान, वक्तित्वकला, दिप प्रज्वलन र दौड प्रतियोगिता लगायतका ३ दिवसिय कार्यक्रम आयोजना गर्ने तय गरेको थियो ।

