इटहरी। नयाँ फसल उत्पादन निस्किन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले प्रतिमन १४ हजार रुपियाँले घटेको छ । अलैँचीको कारोबार भदौ पहिलो सातादेखि सुरु भएको हो । भदौ पहिलो सातामा सदरमुकाम फुङलिङ बजारमा प्रतिमन ९६ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । असोजमा यो दर ८२ हजार रुपियाँमा झरेको छ ।   अलैँचीको सुरुको मूल्य करिब दुई सातासम्म कायम रहेको र भदौ तेस्रो सातादेखि मूल्य निरन्तर घटेको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । 

कारोबार सुरु भएको छोटो अवधिमै ठुलै रकमले मूल्य घट्न थालेपछि स्थानीय अलैँची व्यापारीलाई झस्काएको उहाँको भनाइ छ । आकर्षक र राम्रो मूल्य लिने पर्खाइमा रहेका अलैँची किसानलाई पनि सुरुमै निरन्तर मूल्य घट्न थालेपछि चिन्तित बनाएको छ ।   हालसम्म अन्तर्राष्ट्रिय बजारबाट अलैँचीको माग नभएका कारण मूल्यमा गिरावट आउन थालेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारबाट माग नभए पनि गत वर्षको मूल्यका आधारमा स्थानीय व्यापारीले आफैँ मूल्य निर्धारण गरी कारोबार सुरु गरेका थिए ।

गत वर्ष साधारण अलैँची प्रतिमन एक लाख छ रुपियाँसम्ममा कारोबार भएको थियो । भर्खरैदेखि अलैँचीको कारोबार सुरु भएकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने नभएको अन्य व्यवसायीले बताएका छन् । अन्तर्राष्ट्रिय बजारबाट अलैँचीको माग आउने समय रहेकाले अलैँचीको मूल्यवृद्धि हुँदै आकर्षक मूल्य पाउने सम्भावना त्यत्तिकै रहेको उनीहरूको भनाइ छ । अलैँचीको मुख्य सिजन भने असोज र कात्तिक हो ।