इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र एकताको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। झापामा भने वडा अधिवेशनको तयारी अघि बढाउँदै १३१ वटै वडाका लागि निर्वाचन अधिकृत तोकिएको छ।
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रको एकताबाट मात्रै देश निर्माण र समृद्धिको आधार तयार हुने बताए। नेपाली कांग्रेस झापाले बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने धारणा राखे। थापाले पार्टीको इतर पक्षलाई समेत असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आग्रह गरे। वीपी कोइरालाको विचार, चारतारे झण्डा र चुनाव चिह्न रुख कांग्रेससँगै रहेको उल्लेख गर्दै उनले राजनीतिक परिस्थितिलाई बुझेर सहमति, सहकार्य र एकताको वातावरण बनाउन सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरे।
लोकतान्त्रिक प्रक्रियामा निर्वाचन महत्वपूर्ण हुने उल्लेख गर्दै थापाले महाधिवेशनलाई प्रतिस्पर्धाभन्दा पनि पार्टीको आन्तरिक एकता बलियो बनाउने अवसरका रूपमा अघि बढाउनुपर्ने बताए। कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तयारी छ। बैठकमा कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न हुने बताइन्। उनले वडा तहदेखि केन्द्रसम्म सहमतिको आधारमा अधिवेशन सम्पन्न गर्न सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरिन्।
कांग्रेस झापाका पूर्वसचिव तथा पूर्वमन्त्री वीरमणी ढकालले १५औँ महाधिवेशन कांग्रेसका लागि महत्वपूर्ण परीक्षा भएको बताए। परिवर्तनको प्रक्रियाबाट अघि बढेको कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो। महाधिवेशनका लागि झापामा निर्वाचन अधिकृतको जिम्मेवारी पाएका दिव्यराज घिमिरेले यसपटक प्रतिनिधित्वका लागि क्लस्टरमा परिवर्तन गरिएको र प्रतिनिधित्वको दायरा फराकिलो बनाइएको जानकारी दिए। उनले क्रियाशील सदस्यको नामावली तथा अन्तिम निर्देशिका शुक्रबार प्राप्त हुने जानकारी दिँदै महाधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
कांग्रेस झापाका सभापति देउकुमार थेबेले वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनलाई एकताको आधारमा अघि बढाउनुपर्ने बताए। सहमति, सहकार्य र एकताबाट मात्रै संगठन मजबुत बन्ने उनको भनाइ थियो। बैठकमा कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्य, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय तथा गाउँ–नगर समितिका सभापतिहरूको सहभागिता थियो। बैठकको सहजीकरण जिल्ला सचिवद्वय नवीन विमली र कमल भण्डारीले गरेका थिए।
बैठकले झापाका १३१ वटै वडामा तोकिएका निर्वाचन अधिकृतलाई शुक्रबार बिहान ११ बजे जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण दिने निर्णय गरेको छ। प्रशिक्षणपछि आवश्यक निर्वाचन सामग्रीसहित उनीहरूलाई सम्बन्धित वडामा खटाइने कांग्रेस झापाले जनाएको छ।


