इटहरी स् ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक व्यक्ति सुनसरीबाट १ हजार ४ सय ५४ किलोभन्दा बढी गाँजासहित पक्राउ परेका छन्।

प्रहरीले इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गर्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पिकअपमा ४७ पोका गाँजा लोड गरिएको अवस्थामा यादव पक्राउ परेका हुन्। बरामद गाँजाको नापतौल गर्दा १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम रहेको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए। यादव ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएका थिए। फरार रहेका यादव गाँजाको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

गाँजा र पिकअप गाडीसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको एसएसपी थापाले बताए। प्रहरीका अनुसार गाँजा बरामद गरिएको स्थान जिल्ला प्रहरी कार्यालय सुनसरीबाट करिब ९ किलोमिटर दक्षिणमा पर्छ।