इटहरी स् बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई १० दिनदेखि सम्पर्कविहीन भएकी छन्। भदौ २३ गते घरबाट निस्किएकी उनी त्यसपछि परिवारको सम्पर्कमा आएकी छैनन्।

परिवारका अनुसार मनिलाको खोजीका लागि आफन्त, चिनजानका व्यक्ति तथा सम्भावित स्थानमा खोजी गरिएको छ। उनको अवस्थाबारे इलाका प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको परिवारले जनाएको छ। घरबाट निस्किएपछि मनिलालाई बिर्तामोड पश्चिम स्टेन्ड आसपासमा देखिएको जानकारी परिवारले पाएको थियो। त्यसपछि भने उनको अवस्था अज्ञात रहेको उनका दाजु सोमबहादुर राईले बताए।

‘नौ दिन भयो, घरबाट हिँडेको अहिलेसम्म पत्ता लागेको छैन। सबैतिर खोजी गरिसक्यौँ,’ सोमबहादुरले भने, ‘बहिनी सम्पर्कविहीन भएपछि परिवारमा ठूलो चिन्ता थपिएको छ।’ परिवारका अनुसार मनिलाको मानसिक अवस्था कमजोर छ। उनी घरबाट निस्किँदा मेहेन्दी रङको कुर्ता–सुरुवाल लगाएकी थिइन्। उनको उचाइ करिब पाँच फिट रहेको बताइएको छ।

परिवारले मनिलालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। साथै, उनका दाजु सोमबहादुर राईको मोबाइल नम्बर ९८१४०२८५६७ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।