इटहरी स्  नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट–३।०’ झापाको बिर्तामोडमा सुरु भएको छ। तीन दिनसम्म चल्ने कार्यक्रमको शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक परामर्श व्यवसायीलाई विद्यार्थी विदेश पठाउने भूमिकामा मात्र सीमित नरही कोशी प्रदेशको शैक्षिक विकासमा समेत योगदान गर्न आग्रह गरे। उनले विदेश अध्ययनका लागि विद्यार्थी पठाउनेसँगै नेपालमै, विशेषगरी कोशी प्रदेशमा विभिन्न विषय अध्ययन गर्न विदेशी विद्यार्थी भित्र्याउने योजना बनाउनुपर्ने बताए। प्रदेश सरकारले त्यस्ता योजनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

पर्यटनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई शिक्षा र पर्यटनसँग जोडेर विकास गर्न सकिने उनको भनाइ थियो। उनले कोशी प्रदेशलाई संस्कृत विश्वविद्यालयको हबका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै विश्वका विभिन्न मुलुकका विद्यार्थीलाई नेपालको संस्कृति, पौराणिक महत्व र पूर्वीय दर्शनबारे अध्ययनका लागि आकर्षित गर्न सकिने बताए। संस्कृत विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले जग्गा व्यवस्थापनदेखि आर्थिक सहयोगसम्म गर्न सक्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरे। झापामा देशभरका शैक्षिक परामर्श व्यवसायीलाई एकै ठाउँमा भेला गराएर लिडर्स मिट आयोजना गरेकोमा उनले इक्यानलाई धन्यवाद दिए।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले देशभरका शैक्षिक परामर्श व्यवसायी झापामा भेला भएर कार्यक्रम आयोजना गर्नु सकारात्मक भएको बताए। उनले शैक्षिक परामर्श व्यवसायलाई प्रतिस्पर्धात्मक र मर्यादित बनाउनुपर्नेमा जोड दिए। स्वच्छ र पारदर्शी व्यवसाय गर्नेहरू डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले इक्यानमा आबद्ध व्यवसायीले राज्यले बनाएका नियम तथा कानुन पालना गर्नेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकलगायतको उपस्थिति थियो।

इक्यान झापाको आतिथ्यमा बिर्तामोडस्थित किङ्सबरी होटलमा असोज ४ गतेसम्म चल्ने कार्यक्रममा देशभरबाट इक्यानको केन्द्रीय नेतृत्व, शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित करिब १५० प्रतिनिधि सहभागी छन्। इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीका अनुसार संस्थागत सुदृढीकरण, नेतृत्व विकास, सुशासन तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको आगामी दिशाबारे साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। तीन दिनको कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक सोच, वित्तीय व्यवस्थापन, सञ्चार सीप तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया हुनेछन्। विभिन्न प्रदेश तथा जिल्लाबाट आएका इक्यान नेतृत्वबीच अनुभव आदानप्रदान, सफल अभ्यासको साझेदारी, संस्थागत सञ्जाल विस्तार र रणनीतिक समन्वयका विषयमा समेत छलफल भइरहेको इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ९एड्रयु० ले जानकारी दिए।

‘झापा घोषणापत्र’ जारी गरिँदै

लिडर्स मिटको मुख्य उपलब्धिका रूपमा ‘झापा घोषणापत्र’ जारी गर्ने तयारी गरिएको छ। घोषणापत्रमार्फत नेपालको ग्लोबल एजुकेसन मोबिलिटीको वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण सार्वजनिक गरिने अध्यक्ष कार्कीले बताए। घोषणापत्रमा विद्यार्थी हित, नैतिक व्यावसायिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा सरकारसँगको नीतिगत संवादलगायत विषयलाई प्राथमिकता दिइनेछ। इक्यानका अनुसार हाल ७५० भन्दा बढी सदस्य संस्था संघमा आबद्ध छन्। विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको बढ्दो आकर्षणसँगै गन्तव्य मुलुकका शिक्षा तथा अध्यागमन नीतिमा भइरहेका परिवर्तन र डिजिटल प्रविधिको विस्तारले शैक्षिक परामर्श क्षेत्र पनि परिवर्तनको चरणमा पुगेको छ।

इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले विद्यार्थी तथा अभिभावकलाई परामर्श दिने भूमिकासँगै अन्तर्राष्ट्रिय शैक्षिक संस्था, सरकार र सरोकारवाला निकायबीच जिम्मेवार तथा विश्वसनीय शैक्षिक सम्बन्ध निर्माणमा संस्थागत भूमिका बढाउनुपर्ने आवश्यकता रहेको बताए। कार्यक्रममा विभिन्न जिल्लाका इक्यान शाखा अध्यक्षहरूले आफ्ना शाखाका गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन्। आयोजकका अनुसार लिडर्स मिटले अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रका सम्भावना र चुनौतीबारे राष्ट्रिय तहमा बहसको आधार तयार गर्नुका साथै झापा र कोशी प्रदेशको शैक्षिक क्षेत्र तथा अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।