इटहरी स् रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सुन्दरहरैँचा र शिवसताक्षीका दुई दाजुभाइको कुशको शवको आकृति बनाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ।
सुतार कार्की कुलपूजा समाजका सदस्यसमेत रहेका शिवसताक्षी–१०, टेक्राका कुलबहादुर कार्की र सुन्दरहरैँचा–१२, काफ्ले टोलका सूर्यबहादुर कार्की भदौ १० गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए। हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ। बेपत्ता दुवै जनाको खोजी गर्दा समेत अवस्था पत्ता लाग्न नसकेपछि सुतार कार्की कुलपूजा समाजमा आबद्ध बन्धुबान्धवबीच छलफल र सरसल्लाह गरी कुशको शवको आकृति बनाएर धार्मिक विधिअनुसार अन्त्येष्टि गर्ने निर्णय गरिएको हो।
समाजका अनुसार असोज ४ गते आइतबार बिहान ११ बजे कुलबहादुर कार्कीको सुरुङ्गा माइघाट र सूर्यबहादुर कार्कीको लोहन्द्रा खोला घाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिनेछ।


