इटहरी । बराहक्षेत्र नगर अस्पतालले मासिक रूपमा मोतियाबिन्दुको अप्रेसन कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
चक्रघट्टीस्थित नगर अस्पतालअन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमार्फत बिरामीहरूको निःशुल्क आँखा परीक्षण गर्नुका साथै मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउँदै आइएको हो। वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठान र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।
नगर क्षेत्रका आर्थिक रूपमा विपन्न तथा दूरदराजका नागरिकहरूलाई आफ्नै क्षेत्रमा सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले निःशुल्क आँखा जाँच शिविर आयोजना गरी अस्पतालबाटै शल्यक्रिया सेवा सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो। अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टका अनुसार नियमित रूपमा सञ्चालित यस कार्यक्रम मार्फत थुप्रै बिरामीहरूले मोतियाबिन्दुको सफल शल्यक्रिया गराइसकेका छन्।
स्थानीय तहमै पूर्ण रूपमा निःशुल्क उपचार तथा अप्रेसन सुविधा पाएपछि विशेष गरी विपन्न र वृद्धवृद्धा बिरामीहरूलाई ठूलो राहत पुगेको छ।


