इटहरी । मोरङको सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीको सृजनशील बाल क्लबको आयोजनामा ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ सम्पन्न भएको छ।
सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी प्रतियोगितामा १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुल प्रथम भएको छ। प्रतियोगितामा १०५ अङ्क सहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय द्वितीय, ९५ अङ्क सहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तृतीय र ८० अङ्कसहित शिशिर एकेडेमी सान्त्वना भएका छन्। विजयी विद्यालयहरूलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र र सान्त्वना हुने टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्री, विशिष्ट अतिथि सचिव सूर्य दंगाल, सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्की र प्रिन्सिपल राजन लम्सालले विद्यार्थीको ज्ञान, तार्किक क्षमता, आत्मविश्वास तथा सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप फलदायी हुने बताउनुभयो। शिक्षक, विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै समापन गरिएको थियो।


