इटहरी स् जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले संविधानका व्यवस्था र यसको मर्मबारे विद्यार्थी तथा युवाले बुझ्न जरुरी रहेको बताएका छन्।
संविधान दिवस २०८३ को अवसरमा शनिबार सुनसरीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मेहताले संविधानबारे सही जानकारी नहुँदा विभिन्न समयमा अनावश्यक द्वन्द्व सिर्जना हुने गरेको बताए। उनले नेपाली जनताले बनाएको वर्तमान संविधानका सकारात्मक पक्षबारे विद्यार्थी र युवालाई जानकारी गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नेपालको संविधान देशको मूल कानुन भएकाले यसको मर्म र भावनाअनुसार राज्य सञ्चालन हुनुपर्ने बताए। संविधानले दिएको अधिकारसँगै नागरिकका कर्तव्यको समेत पालना गर्नुपर्ने उनले उल्लेख गरे।
संविधान दिवसको अवसरमा सुनसरीका १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। इनरुवामा प्रभातफेरी तथा रक्तदान कार्यक्रमसमेत गरिएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि र व्यापारीलगायतको सहभागिता रहेको थियो।


