इटहरी । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११औं वर्ष प्रवेश गरेको ऐतिहासिक दिनको स्मरण गर्दै कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ ।

२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको संविधान जारी भएको अवसरमा प्रदेश सरकारले विशेष समारोहको आयोजना गरेको हो । शनिबार बिहान विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कवाज प्रदर्शन गरेका थिए भने विभिन्न १६ जातजाति र समुदायका झाँकीहरू प्रदर्शन गरिएको थियो ।

समारोहबिच संविधान दिवसको अवसरमा आयोजित विभिन्न विधाका खेलकुद तथा निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरियो । खुल्ला निबन्ध प्रतियोगितामा प्रथम हुने भोजपुरका दुर्गाप्रसाद नेपाल लगायत म्याराथन र ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख खापुङले संविधानको सफल कार्यान्वयनबाटै मुलुकमा आर्थिक समृद्धि र राजनीतिक स्थिरता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । 

सामाजिक तथा आर्थिक विकासलाई तीव्रता दिँदै राष्ट्रिय पुँजी निर्माण र समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सबैको साझा भूमिका आवश्यक रहेको उहाँको भनाइ छ । राजनीतिक स्थायित्वका लागि समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने मुख्यमन्त्री कार्कीले जारी सन्देशमा उल्लेख छ । उहाँले संविधानको संरक्षण र समृद्धिको यात्रामा युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई जोड्नुपर्नेमा समेत बताउनुभएको छ ।