इटहरी। नेपालीका काँग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तरगत धनकुटाका सात स्थानीय तहका ६० वडामै वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार साँझसम्म लगाएर सम्पूर्ण वडामा अधिवेशन सम्पन्न गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । सम्पूर्ण वडामा नयाँ कार्यसमिति चयन गरी क्षेत्रीय प्रतिनिधि छनौट गरिएको पार्टीका जिल्ला सहसचिव राम रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ६० वडाबाट कुल वडासभापति बाहेक एक हजार तीन सय ८० प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो ।

पार्टी सभापति दिनेश राईका अनुसार सबै वडामा शान्तिपूर्ण रूपमा निर्विरोध वडा समिति र प्रतिनिधि चयन भएका हुन् । जिल्ला वडा अधिवेशन सम्पन्न भएसँगै नगर र जिल्ला अधिवेशनमा केन्द्रित हुने राईले जानकारी दिनुभयो ।

महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ । त्यससँगै असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा पन्ध्रौँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहेको छ ।