इटहरी स् मोरङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका र पथरीशनिश्चरेबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सुनवर्षी नगरपालिका–८ सिक्टीस्थित भित्री सडकखण्डबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ छन्। प्रहरीका अनुसार शनिबार राति करिब ११ः३० बजे सिक्टीबाट विश्वकर्माचोकतर्फ जाँदै गरेको को २५ प ८८७९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक विक्रम र पछाडि सवार केविनाको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। यसैगरी, पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनबाट प्रहरीले १ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पथरीशनिश्चरे–३ जंगाटोलका २३ वर्षीय करण राई छन्।
लागुऔषध सेवन तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले शनिबार साँझ करिब ६ः३० बजे राईलाई जाँच गरेको थियो। त्यस क्रममा उनको दाहिने गोजीमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


