इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वटै वडामा आइतबार अधिवेशन हुँदैछ। वडा अधिवेशनसँगै जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ।

अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत छनोट हुनेछन्। क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले वडा तहबाट छानिने प्रतिनिधिलाई आगामी तहका अधिवेशनमा महत्वपूर्ण मानिएको छ। नेपाली कांग्रेस तेह्रथुमका सचिव डिल्ली नेपालका अनुसार जिल्लाका सबै ४३ वडामा अधिवेशनको तयारी पूरा भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया आइतबारदेखि अघि बढ्ने उनले बताए।

वडा तहको नेतृत्व चयनसँगै क्षेत्रीय प्रतिनिधिको छनोटलाई लिएर पनि कांग्रेस कार्यकर्ताबीच छलफल र चासो बढेको छ। अधिवेशनमा पुरानो पुस्ताको अनुभवसँगै नयाँ पुस्ताको सहभागिता, समावेशी प्रतिनिधित्व र संगठनलाई थप सक्रिय बनाउने विषयमा समेत बहस भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। जिल्लाका सबै वडामा एकै दिन हुने अधिवेशनले स्थानीय तहको नेतृत्व चयन गर्नुका साथै आगामी तहका अधिवेशनका लागि प्रतिनिधिको आधारसमेत तय गर्नेछ। त्यसैले तेह्रथुम कांग्रेसका लागि वडा अधिवेशनलाई संगठनात्मक रूपमा महत्वपूर्ण मानिएको छ।