इटहरी स् कांग्रेस वडा अधिवेशनपछि मोरङको पथरीशनिश्चरेमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड भएको छ।

शनिबार राति करिब ११ः५० बजे कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा तोडफोड भएको हो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनाको पहिचान खुलेको जनाएको छ। उनीहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुगेको छ। कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ भने घरमा रहेका ६ वटा प्लास्टिकका कुर्सीसमेत तोडफोड गरिएको छ। कार्कीले भाडामा लिएको गाडीको सिसासमेत फुटाइएको र चालकले त्यसपछि गाडी त्यहाँबाट भगाएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब निरीक्षक कुमार राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। अस्थायी प्रहरी चौकी हसन्दहबाट समेत प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तका अनुसार प्रारम्भिक अनुसन्धानबाट पथरीशनिश्चरे–६ गेलाबारीका ३३ वर्षीय विशाल खड्का, ३५ वर्षीय निशान कार्की र ४० वर्षीय रोशन मण्डलको संलग्नता खुलेको छ। ‘घटनाको जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो। तर, घटनामा संलग्नहरू फरार भइसकेका रहेछन्,’ डीएसपी पन्तले भने, ‘फरार भएकाको खोजी तीव्र पारेर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।’घटनाको वास्तविक कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। घटनास्थलको अवस्था, स्थानीयसँगको सोधपुछ र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको पन्तले बताए।

अधिवेशनमा सर्वसम्मत नेतृत्व

तोडफोड गरिएका घरका धनीमध्ये विनोद कार्की २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए। शनिबार सम्पन्न वडा अधिवेशनबाट कार्की र भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। घटना हुँदा भने दुवै जना घरमा नरहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा संलग्न भनिएका विशाल खड्का पनि शनिबारकै वडा अधिवेशनबाट कांग्रेसको वडा सदस्यमा चयन भएका थिए। स्थानीयका अनुसार तोडफोडमा संलग्न समूहले विनोदका दाजु बलराम कार्कीमाथि समेत हातपात गरेको थियो। स्थानीय युवा भव्य मग्रातीमाथि पनि आक्रमण भएको र उनी सामान्य घाइते भएको बताइएको छ।

बलराम कार्कीका अनुसार करिब २० जनाको समूह घरेलु हतियारसहित राति घरमा आएको थियो। उक्त समूहले सुरुमा विनोद कार्की र ईश्वर भट्टराईलाई खोजेको र दुवै जना घरमा नभेटिएपछि तोडफोड गरेको उनले बताए। ‘पार्टीको वडा अधिवेशनमा कुनै विवाद भएको थिएन। नेतृत्व सर्वसम्मत चयन भएको हो। तर, के कारणले तोडफोड गरियो भन्ने यकिन छैन,’ उनले भने। आक्रमणकारीको समूह मदिरा सेवन गरेर आएको हुन सक्ने बलरामको आशंका छ। आफूलाई समेत हातपात गर्न थालेपछि घर पछाडिको बाटो हुँदै भागेर ज्यान जोगाएको उनले बताए। ‘विनोद कार्की र ईश्वर भट्टराईलाई नै लक्षित गरेर आक्रमण गर्ने योजनासहित समूह आएको थियो। तर दुवै जना घरमा थिएनन्,’ उनले भने।

स्थानीयका अनुसार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार भएको वडा अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको थियो। अधिवेशनमा कुनै विवाद नभएको र नेतृत्व सर्वसम्मत चयन भएको उनीहरूको भनाइ छ। अधिवेशन सकिएको केही समयमै मध्यराति दुई क्षेत्रीय प्रतिनिधिको घरमा तोडफोड भएपछि स्थानीयमा त्रास फैलिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको भूमिका, तोडफोडको कारण र अन्य व्यक्तिको सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।