इटहरी , रसुवाको बाढीमा परी बेपत्ता भएको तीन साता बित्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका १० परिवारले शनिबार सामूहिक अन्त्येष्टि गरेका छन्।
बेपत्ता भएका आफन्त जिउँदा छन् कि छैनन् भन्ने यकिन हुन नसके पनि परिवारले लामो समयसम्म राज्यको खोजी र उद्धारको प्रतीक्षा गरे। तर तीन साता बितिसक्दा पनि न सासको खबर आयो, न शव नै भेटियो। अन्ततः हिन्दु संस्कारअनुसार कुशलाई शवको प्रतीक बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो। गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। त्यसयता आफन्तले खोजी तथा उद्धारको आशा गर्दै दिन गन्दै आए पनि बेपत्ता भएका १० जनाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेन।
स्थानीय युवा अगुवा रमन बुढाका अनुसार लामो समयसम्म खोजी गर्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि परिवारले बाध्य भएर अन्तिम संस्कार गरेको हो। ‘हामीले हाम्रा मान्छे खोजिदिन पटक–पटक आग्रह गर्यौँ। तर न सासको खबर आयो, न लास,’ उनले भने, ‘अन्ततः कुशको शव बनाएर संस्कार गर्न बाध्य भयौँ।’ बाढीमा एउटै गाउँका १० जना बेपत्ता भएपछि उनीहरूको खोजी तथा अवस्थाबारे परिवारले निरन्तर चासो राख्दै आएका थिए। तर लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले परम्पराअनुसार अन्तिम संस्कार गरेको हो।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवाको बाढीमा पातारासी गाउँपालिकाका ४९ जना बेपत्ता छन्। माथिल्लो लोर्पाका १०, तल्लो लोर्पाका चार, लाम्रीका १५, तिर्खुका नौ, जम्नाका दुई, तल्फीका एक र बाता गाउँका आठ जना सम्पर्कविहीन रहेको प्रशासनको विवरण छ। त्यस्तै, चन्दननाथ नगरपालिकाका चार, सिंजा गाउँपालिकाका एक र गुठीचौर गाउँपालिकाका नौ जना पनि अझै बेपत्ता रहेको प्रशासनले जनाएको छ।


