इटहरी । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका दुई दाजुभाइ कुलबहादुर कार्की र सुर्जबहादुर कार्कीको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरिएको छ।
शिवसताक्षी–१०, टेक्रा निवासी कुलबहादुर कार्कीको सुरुङ्गास्थित माईघाटमा तथा सुन्दरहरैँचा–१२, काफ्ले टोल निवासी सुर्जबहादुर कार्कीको सुन्दरहरैँचास्थित लोहन्द्रा खोलाको बेलबारी घाटमा अन्तिम संस्कार गरिएको हो। उहाँहरू दुवै जना रसुवास्थित २१६ मेगावाटको अप्पर त्रिशूली एक जलविद्युत् आयोजनाको एन–डब्ल्यु–इ–डि–सी अन्तर्गत दुसान कम्पनी र एन्ड्रिट्ज हाइड्रो सँग सम्बन्धित संरचनामा अमास्टा हाइड्रो मार्फत कुकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
बाढीपछि खोजी तथा उद्धार टोलीले निरन्तर खोजी गरे पनि न सास न त लास भेटिएपछि अन्ततः परिवारजन सनातन परम्पराअनुसार कुशको प्रतिमा बनाएर काजक्रिया गर्न बाध्य भएका हुन्। वास्तविक शव नभेटिए पनि संस्कार अनुसार परिवार र आफन्तले सातौँ हप्तापछि यो निर्णय लिएका हुन् ।
दुई दाजुभाइको बेपत्ताले परिवार, सहकर्मी र सिङ्गो सुतार कार्की समुदायलाई स्तब्ध बनाएको छ। घटनाप्रति सुतार कार्की केन्द्रीय कुलबंश प्रतिष्ठान सुनसरीले दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।


