इटहरी । मोरङको सुन्दरहरैंचामा आयोजित ‘एनसीसी क्विज म्यानिया–२’ को उपाधि सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुलले जितेको छ।

नेपाल कम्प्युटर सेन्टर (एनसीसी) को आयोजनामा सम्पन्न प्रतियोगितामा सुन्दरहरैंचा र इटहरी क्षेत्रका २० भन्दा बढी विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीको सामान्य ज्ञान, सूचना प्रविधि, तार्किक क्षमता तथा तत्काल निर्णय गर्ने क्षमता परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ। समूह ‘ए’ र ‘बी’ गरी सञ्चालन गरिएको प्रतियोगितामा ज्ञानज्योति सेकेण्डरी स्कुल दोस्रो, इटहरीको पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो र लभ्ली एन्जल्स इङ्लिस स्कुल सान्त्वना भए।

विजेता सगरमाथा हिमाल दर्शनले नगद ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। त्यस्तै ज्ञानज्योतिले ७ हजार ५ सय, पूर्वाञ्चलले ५ हजार ५ सय र लभ्ली एन्जल्सले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका छन्। कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका सचिव देवी सिटौलाले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको सामान्य ज्ञान, सिर्जनशीलता, नेतृत्व क्षमता र आत्मविश्वास बढाउन सहयोग पुग्ने बताउनुभयो।

एनसीसीका प्रबन्ध निर्देशक शम्भु राईले विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्दै पाठ्यपुस्तक बाहिरको ज्ञान विकास गराउन प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो। सो अवसरमा ‘द भ्वाइस अफ किड्स’की फाइनलिस्ट तथा ज्ञानज्योति सेकेण्डरी स्कुलकी विद्यार्थी केबिना राईलाई सम्मान गरिनुका साथै उहाँले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो।