इटहरी । मोरङको कानेपोखरीमा आगामी कात्तिक १३ र १४ गते ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
मोरङ सीएचआईटीएफ तेक्वान्दो संघले शनिबार कानेपोखरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ। संघका अध्यक्ष विधानन्द चौधरीका अनुसार स्वास्थ्य, अनुशासन र आत्मरक्षाका लागि खेलकुदको विकास गर्दै स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
दुईदिने प्रतियोगितामा पुरुष ११० र महिला १०५ गरी २१५ जना खेलाडी, १५ जना अफिसियल तथा ५ जना निर्णायक सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने डोजाङलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। अनुमानित लागत २ लाख ५२ हजार रुपैयाँ रहेको सो प्रतियोगिताका लागि वडा कार्यालय, स्थानीय संघसंस्था र खेलप्रेमीबाट सहयोग जुटाइनेछ । सम्मेलनका अवसरमा राष्ट्रिय तथा पूर्वाञ्चलस्तरीय खेलाडीहरूले आकर्षक तेक्वान्दो खेल प्रदर्शन गरेका थिए ।


