इटहरी। धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ । तर, घरभित्र पस्नेबित्तिकै दशकौँ पुरानो समयको झल्को दिने ऐतिहासिक सामग्री, तस्बिर, कागजात र स्मृतिचिह्न देखिन्छन् ।

घरका दराज, भित्ताका कुनाकाप्चा र ¥याकमा सजाइएका सामग्रीमा कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोनदेखि पुराना भाँडाकुँडा तथा कृषि औजारसम्म छन् । राणा शासनकालको इतिहास सम्झाउने चन्द्रशमशेरकालीन इँटा र माटाका पाइप तथा पुरानो धनकुटाको स्वरूप देखाउने दुर्लभ तस्बिर पनि यहाँ सुरक्षित छन् । त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्तावेजसमेत यही घरमा सुरक्षित छन् । तीमध्ये २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा नेपाली कांग्रेसका तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले जयनारायण श्रेष्ठसँग भरुवा बन्दुक र गोली लिएको भर्पाइ विशेष महत्वको छ ।

क्रान्ति सम्पन्न भएपछि बन्दुक फिर्ता गर्ने शर्तमा तयार गरिएको उक्त भर्पाइ पुस्तौँ पार गर्दै अहिले पनि सुरक्षित छ । जयनारायण श्रेष्ठ शहीद भीमनारायण श्रेष्ठका बुबा तथा मनोजनारायण श्रेष्ठका हजुरबुबा हुन् । यस्ता ऐतिहासिक सामग्रीको संरक्षण धनकुटा नगरपालिका–६ सिरान बजारका मनोजनारायण श्रेष्ठले गर्दै आएका छन् । शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि पुराना वस्तु, ऐतिहासिक कागजात, तस्बिर तथा स्मृतिचिह्न सङ्कलन गर्दै आफ्नै घरलाई सानो तर महत्वपूर्ण सङ्ग्रहालयका रूपमा विकास गरेका छन् । उनले स्थापना गरेको शहीद भीमनारायण श्रेष्ठ स्मृति सङ्ग्रहालय अहिले धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक स्मृतिको निजी अभिलेखजस्तै बनेको छ ।

एउटा विदेशीको प्रश्नले सुरु भएको संरक्षण यात्रा

मनोजनारायण श्रेष्ठको पुराना वस्तु सङ्कलन गर्ने यात्रा कुनै पूर्वयोजनाबाट सुरु भएको थिएन । २०५१ सालमा जापानी नागरिकहरूसँग काम गर्ने क्रममा भएको एउटा घटनाले उनलाई पुराना सम्पदा र वस्तुको महत्वबारे सोच्न बाध्य बनायो । एक दिन जापानी टोलीलाई लिएर धनकुटा बजारको हुलाकटोल हुँदै चारचौतारातर्फ जाने क्रममा अहिलेको जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि टोलीका सदस्यले अचानक गाडी रोकेर पैदल हिँड्न आग्रह गरे । सडकमा बिछ्याइएको पुरानो ढुङ्गा हेर्न उनीहरू गाडीबाट ओर्लिएका थिए ।

श्रेष्ठका अनुसार उनले दोभासेमार्फत उनीहरू गाडीबाट किन ओर्लिएको भनेर सोधेका थिए । जापानी टोलीले उक्त ढुङ्गे सडक पुरातात्विक सम्पदा भएकाले संरक्षण गर्नुपर्ने र त्यसमाथि गाडी चलाउँदा ढुङ्गा फुट्न सक्ने बताएका थिए । विदेशी नागरिकले धनकुटाको एउटा पुरानो ढुङ्गाप्रति देखाएको संवेदनशीलताले आफूलाई गहिरो प्रभाव पारेको श्रेष्ठले बताए । त्यसपछि उनले पुराना वस्तु जोगाउने र सङ्कलन गर्ने सोच बनाएको बताए । सानो प्रयासबाट सुरु भएको उनको अभियान तीन दशकभन्दा बढी समयपछि व्यक्तिगत सङ्ग्रहमा परिणत भएको छ । अहिले उनीसँग दुई सयभन्दा बढी महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक सामग्री सुरक्षित छन् ।

एउटा भर्पाइ, जसले इतिहासको कथा सुनाउँछ

सङ्ग्रहालयमा रहेका सबै सामग्रीमध्ये २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित दस्तावेजलाई विशेष महत्व दिइएको छ । त्यसमध्ये जयनारायण श्रेष्ठसँग तत्कालीन नेपाली कांग्रेसका राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले भरुवा बन्दुक र त्यसका गोली लिएको भर्पाइ महत्वपूर्ण मानिन्छ । राणा शासनविरुद्धको सशस्त्र आन्दोलनका क्रममा राजनीतिक गतिविधिका लागि बन्दुक आवश्यक परेपछि कोइरालाले जयनारायणसँग उक्त हतियार लिएको बताइएको छ । क्रान्ति सम्पन्न भएपछि फिर्ता गर्ने सर्तमा बन्दुक लिइएको प्रमाणका रूपमा भर्पाइ तयार गरिएको थियो ।

क्रान्ति सम्पन्न भयो । राजनीतिक व्यवस्था पनि परिवर्तन भयो । तर, त्यो बन्दुक श्रेष्ठ परिवारमा फर्किएन । बन्दुकको सट्टा त्यसको सम्झना बोकेको एउटा कागज मात्र परिवारसँग रह्यो । श्रेष्ठका अनुसार सामान्य कागजजस्तो देखिए पनि उक्त भर्पाइको ऐतिहासिक महत्व ठूलो छ । त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण घटनालाई सम्झाइरहेको उनको भनाइ छ ।

चन्द्रशमशेरकालीन इँटादेखि राणाकालीन माटाका पाइपसम्म

सङ्ग्रहालयमा राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र छैनन् । नेपाली समाजको जीवनशैली, प्रविधि र निर्माण संस्कृतिसँग सम्बन्धित सामग्री पनि छन् । चन्द्रशमशेरको पालामा निर्माण गरिएका इँटा यहाँ सुरक्षित छन् । राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइप पनि सङ्ग्रहालयमा राखिएका छन् । पुराना सञ्चार उपकरणले तत्कालीन प्रविधिको झल्को दिन्छन् । ग्रामोफोन, रेडियो र टेलिफोनले सञ्चार तथा मनोरञ्जनका पुराना दिन सम्झाउँछन् । घरायसी भाँडाकुँडा, काठ तथा माटाबाट बनेका सामग्री र कृषि औजारले तत्कालीन समाजको दैनिकी बुझ्न सहयोग गर्छन् । यी सामग्रीमध्ये धेरै अहिलेको पुस्ताले देख्नसमेत पाएको छैन । त्यसैले सङ्ग्रहालय पुराना वस्तु थन्क्याइएको स्थान मात्र नभएर पुस्ताबीचको सम्बन्ध जोड्ने माध्यम पनि बनेको श्रेष्ठको भनाइ छ ।

पुरानो धनकुटा तस्बिरमा जीवित छ

मनोजनारायण श्रेष्ठले धनकुटाका पुराना तस्बिरलाई पनि प्राथमिकताका साथ सङ्कलन गरेका छन् । करिब ६० देखि ७० वर्षअघि खिचिएका धनकुटाका विभिन्न स्थानका तस्बिर सङ्ग्रहालयमा सुरक्षित छन् । ती तस्बिरमा पुरानो धनकुटाको बजार, सडक, घर, बस्ती र मानिसको जनजीवन देखिन्छ । अहिले धेरै कुरा परिवर्तन भइसकेका छन् । कतिपय घर भत्काएर नयाँ बनाइएका छन् भने धेरै घर थपिएका छन् । कतिपय बाटाघाटा फेरिएका छन् र पुरानो बजारको स्वरूपसमेत बदलिएको छ । तर ती सबै दृश्य तस्बिरमा अझै जीवित छन् । पुराना तस्बिरले धनकुटाले समयको लामो यात्रामा पार गरेको परिवर्तनलाई बुझ्न सहयोग गर्ने श्रेष्ठले बताए । उनका अनुसार आज सामान्य लाग्ने कुनै कागज वा तस्बिर पनि भोलि महत्वपूर्ण इतिहास बन्न सक्छ । त्यसैले धनकुटासँग सम्बन्धित भेटिएका सामग्री सकेसम्म सुरक्षित राख्ने प्रयास गर्दै आएको उनले बताए ।

बुबाको स्मृतिलाई सङ्ग्रहालयमा सुरक्षित राख्दा

सङ्ग्रहालयको अर्को महत्वपूर्ण पाटो शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित सामग्री हो । मनोजनारायण श्रेष्ठका बुबा भीमनारायण श्रेष्ठ नेपाली राजनीतिक इतिहासका चर्चित व्यक्तित्व हुन् । उनीसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र, व्यक्तिगत सामग्री तथा विभिन्न दस्तावेज सङ्ग्रहालयमा सुरक्षित छन् । यी सामग्रीमा उनको राजनीतिक सङ्घर्ष मात्र होइन, परिवारले भोगेको पीडा र तत्कालीन राजनीतिक परिस्थितिको चित्रसमेत भेटिन्छ । भीमनारायण श्रेष्ठलाई २०३० साल चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा भएको बम प्रहार घटनापछि पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको गतिविधि तथा राजामाथि बम प्रहारसम्बन्धी अभियोग लगाइएको थियो ।

विशेष अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको थियो । २०३५ माघमा कोशी टप्पु पु¥याएर उनलाई गोली हानी मृत्युदण्ड दिइएको थियो । उनको जेलजीवन, सङ्घर्ष र पञ्चायतकालमा राज्यद्रोहको मुद्दा लागेपछि वकिलसमेत नपाएको अवस्थासँग सम्बन्धित कागजात पनि सङ्ग्रहालयमा सुरक्षित छन् । मनोजनारायणले बुबासँग सम्बन्धित सामग्री जोगाउनु आफ्नो व्यक्तिगत दायित्वसमेत भएको बताए ।

अनुसन्धानकर्ताका लागि पनि महत्वपूर्ण स्रोत

घरभित्र सुरु भएको निजी सङ्ग्रह अहिले विद्यार्थी र अनुसन्धानकर्ताको अध्ययनस्थल पनि बन्न थालेको छ । इतिहास, संस्कृति, वास्तुकला र सामाजिक परिवर्तनसँग सम्बन्धित अध्ययन गर्ने विद्यार्थी तथा अनुसन्धानकर्ता सङ्ग्रहालय पुग्ने गरेका छन् । धरान इन्जिनियरिङ क्याम्पस तथा मदन भण्डारी प्रतिष्ठान, उर्लाबारी मोरङका विद्यार्थी र इन्जिनियरले पुराना वास्तुकलाका नमुना अध्ययन गर्न सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् । पुराना इँटा, माटाका पाइप, निर्माण सामग्री तथा घरायसी वस्तुले तत्कालीन प्रविधि र जीवनशैली बुझ्न सहयोग गर्ने श्रेष्ठले बताए । मनोजनारायणले सङ्कलन गरेका सामग्री नयाँ पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक स्रोत बनेको स्थानीय राजेश्वर श्रेष्ठले बताए । समयसँगै प्रयोगबाट हराउँदै गएका धेरै सामग्री अहिले कतै भेटिँदैनन् भन्दै उनले यस्ता सामग्री सुरक्षित हुनु समुदाय र मुलुकको इतिहास सुरक्षित गर्नु भएको बताए ।

उनका अनुसार राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र नभएर दैनिक जीवनसँग जोडिएका वस्तु सुरक्षित हुनु सङ्ग्रहालयको विशेष पक्ष हो । शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित दस्तावेज र सामग्री अवलोकन गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पनि सङ्ग्रहालय पुग्ने गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेताहरू प्रकाशमान सिंह र मिनेन्द्र रिजाललगायत विभिन्न राजनीतिक व्यक्तित्वले सङ्ग्रहालयको अवलोकन गरिसकेको मनोजनारायणले बताए । विशेषगरी भीमनारायण श्रेष्ठको राजनीतिक जीवनसँग सम्बन्धित दस्तावेजले लोकतान्त्रिक आन्दोलनको इतिहास बुझ्न सहयोग गर्ने उनको भनाइ छ ।

एउटा घरबाट सुरु भएको मौन अभियान

मनोजनारायण श्रेष्ठको सङ्ग्रहालय कुनै सरकारी परियोजनाबाट बनेको होइन । न त यसका लागि ठूलो बजेट छुट्याइएको छ । घरको एउटा सानो कुनाबाट सुरु भएको सङ्कलन यात्रा उनकै व्यक्तिगत लगानी, समय र मेहनतबाट विस्तार हुँदै आएको हो । साथीभाइ, आफन्त, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट प्राप्त सामग्री पनि सङ्ग्रहमा थपिँदै गए । कतिपय सामग्री उनले आफैँ खोजे भने कतिपय मानिसले महत्व बुझेर उनलाई उपलब्ध गराए । यसरी विस्तारै घर नै सङ्ग्रहालयमा परिणत भएको हो । अहिले एउटै घरमा दुई सयभन्दा बढी दुर्लभ सामग्रीसँगै ऐतिहासिक दस्तावेज सुरक्षित छन् । इतिहास संरक्षण भने सजिलो काम होइन । पुराना कागजातलाई सुरक्षित राख्न उपयुक्त वातावरण चाहिन्छ भने तस्बिर बिग्रन नदिन संरक्षण आवश्यक हुन्छ ।

पुराना धातु, काठ, माटो र कागजबाट बनेका वस्तुलाई समयको असरबाट बचाउन निरन्तर हेरचाह आवश्यक हुन्छ । तर श्रेष्ठले आफ्नै स्रोत र साधनबाट यो कामलाई निरन्तरता दिइरहेका छन् । राज्यस्तरबाट पर्याप्त संरक्षण, बजेट वा प्रोत्साहन नपाए पनि उनले सङ्कलन र संरक्षणको कामलाई निरन्तरता दिएका छन् । उनका लागि यो व्यक्तिगत रुचिको विषय मात्र नभएर धनकुटाको इतिहाससँग जोडिएको जिम्मेवारी बनेको छ । अहिले संरक्षण नगरे केही वर्षपछि धेरै सामग्री सधैँका लागि हराउन सक्ने भएकाले भेटिएका ऐतिहासिक सामग्रीलाई सम्भव भएसम्म जोगाएर राख्ने प्रयास गरिरहेको श्रेष्ठले बताए ।